KHASOKHAS
शरणार्थी र एसाइली लगायतका आप्रवासीलाई फुड स्ट्याम्प रोक्ने ट्रम्पको कदमविरुद्ध २१ राज्यद्वारा मुद्दा
शरणार्थी र एसाइली लगायतका आप्रवासीहरुलाई पुरक पोषण सहायता कार्यक्रम ( फुड स्ट्याम्प) रोक्ने निर्णयलाई चुनौती दिँदै २१ राज्यका महान्यायाधिवक्ताहरूको एक गठबन्धनले बुधवार अमेरिकी कृषि मन्त्रालय विरुद्ध मुद्धा दायर गरेको छ ।
शरणार्थी र एसाइलम स्वीकृत भइसकेका लगायत केही आप्रवासीहरूलाई पूरक पोषण सहायता कार्यक्रमबाट प्राप्त हुने लाभ रोक्ने गरी आएको नीतिविरुद्ध न्युयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सको नेतृत्वमा मुद्धा दायर गरिएको हो । बालबालिका र परिवारहरुका खाना खोस्ने संघीय सरकारको निर्णय विरुद्ध मुद्धा दायर गरिएको जेम्सको भनाइ छ ।
कृषि मन्त्रालयसँग फुड स्ट्याम्प कार्यक्रमको मनपरी कटौती गर्ने अधिकार नभएको र देशमा उनीहरुको आगमनको परिस्थितिका कारण कोही पनि भोको रहन नहुने जेम्को धारणा छ ।
न्युयोर्क सहित वाशिंगटन, डीसी, ओरेगन, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेयर, हवाई, इलिनोइस, मेन, मेरील्याण्ड, म्यासाचुसेट्स, मिशिगन, मिनेसोटा, नेभाडा, न्यू जर्सी, न्यू मेक्सिको, नर्थ क्यारोलाइना, रोड आइल्याण्ड, भर्मन्ट, वाशिंगटन र विस्कन्सिनका महान्यायाधिवक्ताहरुले संयुक्त रुपमा मुद्धा दायर गरेका हुन् । उनीहरुले ओरेगनको संघीय न्यायालयमा कृषि मन्त्रालयको यस निर्देशनलाई रद्ध गर्न मुद्धा दायर गरेका हुन् ।
फुड स्ट्याम्प कार्यक्रमले कम आय भएका मानिसहरु, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकालाई पोष्टिक आहार खरिद गर्न मद्धत गर्ने गर्दछ । नयाँ कानुन लागू हुनु अघि शरणार्थी, शरण पाइसकेका व्यक्तिहरू र मानवीय कारणले प्रवेश पाएकाहरू आप्रवासी समूहले यसअघि प्राप्त गर्दै आएका यो सुविधा कटौती गर्ने नीति आएको हो ।
सामान्यतया, धेरैजसो वैध स्थायी बासिन्दाहरूले फुड स्ट्याम्प लाभ पाउनु अघि पाँच वर्षसम्म अमेरिकामा बसेको हुनुपर्ने व्यवस्था छ । यद्यपि, केही समूहहरूले प्रतीक्षा अवधिबाट छुट पाइरहेका थिए ।
राष्ट्रपति लिन्डन बी. जोन्सनले फुड स्ट्याम्प एक्ट १९६४ लागु गरेयता फुड स्ट्याम्प कार्यक्रम स्थायी रुपमा संचालनमा छ । यस अघि पनि जोन एफ. केनेडी राष्ट्रपति हुँदा अस्थायी रुपमा यसको परिक्षण भएको थियो ।
यो अमेरिकाको महत्वपूर्ण खाद्य सुरक्षा कार्यक्रम हो । अमेरिकी कृषि मन्त्रालय खाद्य तथा पोषण सेवाको तथ्याङ्क अनुसार, सन् २०२४ मा ४ करोड १७ लाख मानिसहरुले मासिक रुपमा फुड स्ट्याम्पबाट लाभ प्राप्त गरेका थिए । यस वर्षमा प्रतिव्यक्तिले १८७ डलरको फुड स्ट्याम्प लाभ लिएका थिए ।