मध्यरातदेखि भारतीय सीमानाका बन्द
वीरगन्ज। जिल्ला प्रशासन कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरातदेखि लागू हुने गरी भारतसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय नाका ७२ घण्टाका लागि बन्द गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार पर्सासँग जोडिएको भारतको विहार राज्यअन्तर्गत पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लासँगका सीमानाका निर्वाचन सुरक्षालाई ध्यानमा राखी बन्द गरिएको हो। फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म नाका बन्द रहने निर्णय भएको जनाइएको छ। निर्वाचनका समयमा दुवै मुलुकले ७२ घण्टा सीमानाका बन्द गर्ने प्रचलन रहेको प्रशासनले जनाएको छ।
फागुन १९ गते तराई–मधेसमा मनाइने होली पर्वलाई निर्वाचनमैत्री ढङ्गले मनाउन प्रशासनले आग्रह गरेको छ। सार्वजनिक स्थानमा भीडभाड गर्ने, होहल्ला गर्ने, जबर्जस्ती रङ दल्ने, मदिरा सेवन गरी सामाजिक सद्भाव खल्बल्याउने गतिविधि नगर्न अनुरोध गरिएको छ। कुनै पनि राजनीतिक दल वा उम्मेदवारको झन्डा वा चुनाव चिह्न अंकित कपडा लगाएर पर्व मनाउन निषेध गरिएको छ।
होलीका अवसरमा मोटरसाइकल दुर्घटना बढ्ने भएकाले फागुन २० गते मोटरसाइकल प्रयोग गरी होली मनाउन निषेध गरिएको सूचनामा उल्लेख छ। फागुन १९ गतेदेखि निर्वाचन परिणाम घोषणा नभएसम्म जिल्लाभर कुनै पनि राजनीतिक दलको प्रचारप्रसार, सभा–जुलुस तथा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रममा ध्वनि प्रदूषण हुने प्रकारका बाजा बजाउन निषेध गरिएको प्रशासनले जनाएको छ।