npl.977 Nepal News Stream

Taksar News logo Taksar News

सरकारलाई औषधि व्यवसायीहरूको चेतावनीः मंसिर १६ गतेसम्म माग पूरा नभए कठोर निर्णय लिन बाध्य हुन्छौँ

टक्सार न्युज 21 hours ago

काठमाडौँ । औषधि व्यवसायीहरूले औषधि व्यवस्था विभागमा धर्ना दिएका छन्।

आइतबार बिहान सुरू भएको प्रदर्शनमा व्यवसायीहरूले औषधि ऐन, २०३५ को दफा ११ को उपदफा ५ खारेज गर्नुपर्ने माग राखेका छन्। विरोधका क्रममा सहभागी व्यवसायीहरूले हातमा कालोपट्टी बाँधेर उक्त उपदफाको विरोध जनाएका थिए।

नेपाल औषधि संघ, काठमाडौँ जिल्ला शाखाका महासचिव शोभमान श्रेष्ठले औषधि ऐनको दफा ११ संशोधन गर्दा व्यवसायीहरूलाई पलायन गर्न खोजिएको आरोप लगाउँदै तत्काल उपदफा ५ खारेज गर्न सरकारसँग माग गरेका छन्।

उनले भने, “सरकारले मंसिर १७ गतेसम्म हाम्रो माग पूरा नगरे हामी कठोर कदम चाल्ने छौँ। सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै अहिलेसम्म औषधि पसलहरू नियमित सञ्चालन भइरहेका छन्। तर अब चरणबद्ध रूपमा एक घण्टा, दुई घण्टा गर्दै पसल बन्द गर्ने कार्यक्रम लागू गर्ने तयारीमा छौँ।”

श्रेष्ठले औषधि व्यवसायी संघ, आयुर्वेद व्यवसायी संघ र औषधि आयातकर्ता संघसँग मिलेर संघर्ष समिति गठन गरिएको बताए।

उनले भने, “स्वास्थ्य मन्त्रालयका पूर्व मन्त्री प्रदीप पौडेललाई समेत यसबारे जानकारी गराएका थियौँ। एक हप्ताभित्र सम्बोधन गर्ने आश्वासन पाए पनि हालसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन। त्यसैले ११ गते हामीले एक घण्टाको मौन धारण गरेर विरोध गरेका थियौँ। आज सम्पूर्ण औषधि पसलहरू ११ बजे देखि १२ बजेसम्म बन्द छन्। यदि माग पूरा भएन भने भोलि दुई घण्टा, पर्सि तीन घण्टा र मंसिर १६ गतेसम्म चरणबद्ध रूपमा बन्द कार्यक्रम जारी रहनेछ। मंसिर १७ गतेदेखि भने कडा कदम चाल्ने तयारीमा छौँ।”

औषधि व्यवसायीहरूले माग पुरा नहुँदासम्म आफ्नो विरोध जारी राख्ने योजना बनाएका छन्।

Read more news from Taksar News

Explore by Source or Category