npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

नारायणघाट-पथलैया सडकको डीपीआर अड्कियो, भायडक्ट बनाउन पैसा कसले हाल्ने भन्नेमा विवाद

Shukra Giri 6 hours ago

काठमाडौं। नारायणघाट-हेटौंडा-पथलैया सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अड्किएको छ।

यो सडकका दुई स्थानमा भायडक्ट (लामो पुल) बनाउन करिब १४ अर्ब रुपैयाँ कसले हाल्ने भन्ने विषयमा सडक विभाग र एसियाली विकास बैंक(एडीबी)बीच सहमति हुन नसक्दा डीपीआर स्वीकृत हुन नसकेको हो।

सडक विभागको आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी)का निर्देशक चुडाराज ढकालले लगानीको विषयमा सहमति हुन नसकेका कारण डीपीआर अड्किएको बताए।

‘हामीले अनुदानबिना भायडक्टमा लगानी गर्न सकिंदैन भनेका छौं,’ ढकालले भने, ‘एडीबीका प्रतिनिधिले पहिलो चरणमा टिकौली जंगलमा २ किलोमिटर भायडक्ट बनाउन अनुदान दिन सकिंदैन तर दोस्रो चरणमा अमलेखगञ्ज आधाभार क्षेत्रमा भायडक्ट बनाउनका लागि ग्रान्ट दिने विषयमा विचार गरौंला भनेका छन्।’

दुई स्थानमा दुई/दुई किलोमिटर भायडक्ट बनाउन ७/७ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ। भायडक्ट भनेको लामो र अग्लो पुल हो जुन बनाउन अग्लो पिलर उठाउनुपर्छ। जंगल क्षेत्रमा अग्लो पिलर उठाएर पुल बनाउँदा वन्यजन्तुको ओहोरदोहोरमा प्रभाव पर्दैन। साथै यात्रु पनि वन्यजन्तुबाट सुरक्षित रहन्छन्।

विभागका अधिकारीहरुका अनुसार ७० किलोमिटर लामो नारायणगढ-हेटौंडा र ३४ किलोमिटर लामो हेटौंडा-पथलैया सडक विस्तारका लागि ५० देखि ५२ अर्ब रुपैयाँ खर्च हुने अनुमान रहेकामा २/२ किलोमिटर भायडक्ट बनाउनु परेको अवस्थामा थप १४ अर्ब रुपैयाँ खर्च हुनेछ।

ती दुई स्थानमा भायडक्ट नबनाइ सडक मात्र विस्तार गर्दा डेढ अर्बमा काम हुन्छ। त्यही कारण विभागका अधिकारीहरुले अनुदान नपाएको अवस्थामा ऋण लिएर भायडक्ट बनाउन नसकिने बताएका हुन्।

‘भायडक्ट बनाउने प्रस्ताव गरिएको दुई स्थानको ४ किलोमिटर सडक बनाउन बढीमा डेढ अर्ब रुपैयाँ खर्च हुन्छ,’ ढकालले भने, ‘त्यही कारण हामीले अनुदानबिना भायडक्ट बनाउन सकिंदैन भनेका हौं। विन विन अवस्थाका लागि छलफल गरिरहेका छौं।’

दुई किलोमिटर खण्डमा भायडक्ट बनाउन ६७ वटा पिलर बनाउनुपर्छ। 

एडिबीले नारायणघाट-हेटौंडा-पथलैया सडक विस्तार र मुग्लिन बजारको पारिपट्टिबाट आँबुखैरेनीसम्म सडक बनाउन ३३० मिलियन अमेरिकी डलर अर्थात ४७ अर्ब ७१ करोड रुपैयाँ सहयोग गर्ने भनेको छ। त्यसमध्ये २४४ मिलियन डलर भने सहुलितपूर्ण ऋण हो। यी दुई आयोजनामा २० प्रतिशत ६६ मिलियन डलर भने नेपालले लगानी गर्नुपर्छ।

The post नारायणघाट-पथलैया सडकको डीपीआर अड्कियो, भायडक्ट बनाउन पैसा कसले हाल्ने भन्नेमा विवाद appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category