मध्यपूर्वमा अलपत्र नेपालीको विवरण संकलनका लागि अनलाइन पोर्टल सञ्चालन
काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा उत्पन्न पछिल्लो तनावका कारण अलपत्र अवस्थामा परेका नेपाली नागरिकको विवरण संकलन र आवश्यक सहयोग तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।
यो पोर्टल युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायतका खाडी क्षेत्रका देशमा रहेका नेपाली नागरिकका लागि लक्षित गरिएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले सबै नेपालीलाई यथाशीघ्र आफ्नो व्यक्तिगत विवरण, सम्पर्क ठेगाना र अवस्था पोर्टलमा अद्यावधिक गर्न अनुरोध गरेका छन्।
पहिलो चरणमा पोर्टलमार्फत नेपाल फर्कने क्रममा विमानस्थलमा अलपत्र परेका, भिसा अवधि सकिएका वा कम्पनीबाट भिसा रद्द भएपछि असहज अवस्थामा रहेका नेपालीले आफ्नो विवरण प्रविष्ट गर्न सक्ने व्यवस्था गरिएको छ। जानकारी प्राप्त भएपछि सम्बन्धित निकायले समन्वय गरी आवश्यक सहयोग प्रदान गर्ने जनाएको छ।
सरकारको यो पहलले मध्यपूर्वी क्षेत्रमा रहेका श्रमिक र अन्य नेपाली नागरिकबीच बढेको चिन्ता कम गर्न तथा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। दूतावासहरूले आपतकालीन अवस्थामा रहेका नेपालीलाई अफवाहमा नपरी, केवल आधिकारिक च्यानलमार्फत सम्पर्क गर्न समेत निर्देशन जारी गरेका छन्।
