नेपाल फाइनलमा पराजित
काठमाडौं (हाम्रो खेलकुद)- एसिसी पुरुष यू-१९ प्रिमियर कपको फाइनलमा नेपाल युएईसँग २७ रनले पराजित भएको छ।
अपराजित रहँदै फाइनलमा पुगेको नेपालको लागि दयानन्दले प्रभावशाली बलिङ गरेपनि ब्याटिङमा नेपाल चुक्यो।
यो प्रतियोगिताबाट फाइनलमा पुगेका नेपाल र युएईसँगै तेस्रो भएको मलेसियाले एसिसी यु-१९ एसिया कपमा स्थान बनाएको छ।
जितको लागि १ सय ४८ रनको चुनौती पछ्याएको नेपाल ३३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय २० रनमा समेटियो।
कमजोर सुरुवात गरेको नेपालले १६ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो। निरज कुमार यादव र निश्चल क्षेत्री १/१ रनमा तथा वंश क्षेत्री ११ रनमा र दर्श सोनार रनको खाता नखोली आउट भए।
यसपछि पाँचौं विकेटको लागि आशिष लुहार र अशोक धामीले ४४ रनको साझेदारी गरे। यो नै नेपालको ठूलो साझेदारी बन्यो। आशिष २५ रनमा आउट भए ।
कप्तान अशोक धामीले ६६ बलमा ४ चौका सहित सर्वाधिक ४४ रन जोडे। यस्तै रोशन विश्वकर्मा १६ बलबाट २५ रन बनाए । तर पनि नेपाल १ सय २० रनमा समेटियो।
बलिङमा युगजय शर्मा र अलि असगर सम्हाले समान ३ तथा उद्दीश सुरी र नुरउल्लाह आयोबीले समान २ विकेट झारे।
त्यसअघि अजमानको कारवान ग्राउन्डमा भऐको खेलमा नेपालले टस जितेर बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ४५.५ ओभरमा अल आउट हुँदै १ सय ४७ रन बनायो।
दयानन्दले पहिलो ४ विकेट लिएपछि युएई विरूद्ध नेपालले उत्कृष्ट सुरूवात गर्यो। ओपनर तथा कप्तान यायिन राय दयानन्दको बलमा रोयल आउट भए। लगतै ५ रन बनाएका जानुउल्लाह रेहमानीलाई पनि दयानन्दले नै एलबिडब्लु धरापमा पारे।
५ रन बनाउँदा २ विकेट गुमाएको युएईले सातौं ओभरमा थप दुई विकेट गुमायो। सातौं ओभरको दोस्रो बलमा ओपनर आयान मिसबाह र यही ओभरको पाँचौं बलमा मुहम्मद रायन खानलाई दयानन्दले पबिलियनको बाटो देखाइदिए। आयानले ११ रन बनाउँदा मुहम्मदले रनको खाता खोल्न सकेका थिएनन्।
पाँचौं विकेटको रूपमा पृथ्वी मधु ४ रनमा अशोक धामीद्वारा बोल्ड आउट भए। यसपछि अहमद खुदादत र नोरउल्लाह अबोयीले छैठौ विकेटका लागि ५६ रनको साझेदारी गरे। नोरउल्लाह २६ रन जोडेर अपराजित पौडेलको बलमा आउट भए। ३१ ओभर ४ बलमा युएईले १ सय रन जोडेको थियो।
लगतै ७ रन बानएका उद्दिश सुनलाई पनि अपराजितले नै आउट गरे। आठौं विकेटको रूपमा सालेह अमिन ५ रनमा आउट भए।
क्रिजमा जमेका अहमद खुदादतले १ सय २६ बल खेल्दै ६ चौका सहित ७१ रनको उत्कृष्ट पारी खेले। उनलाई पनि दयानन्दले नै आउट गरे।
बलिङमा दयानन्द नायक बने। उनले ६ ओभरमस बलिङ गर्दै मात्र १७ रन दिएर ६ विकेट लिए। अपराजितले २ विकेट आफ्नो नाममा लेखाए। मलेसिया तेस्रो भयो। मलेसियालले ओमानलाई ७४ रनको फराकिलो अन्तरले हरायो।
The post नेपाल फाइनलमा पराजित first appeared on हाम्रो खेलकुद.