PalikaNews
लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टि आवश्यक : मेयर बालेन
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले देशको दिगो विकासका लागि लोकप्रिय नारा र क्षणिक निर्णयभन्दा पनि इमानदार नेतृत्व, स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोच आवश्यक रहेको बताएका छन् ।
२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत दिएका हुन्। उनले नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा विकास केवल भाषण र राजनीतिक नाराले सम्भव नहुने स्पष्ट पारेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि आफूले एक सिभिल इन्जिनियरका रूपमा काभ्रे जिल्लामा मात्रै करिब दुई हजार पाँच सय घर निर्माण गरेको स्मरण गर्दै शाहले गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा पुनर्निर्माणको काम गर्दा धेरै अनुभव र सिकाइ हासिल गरेको उल्लेख गरेका छन् ।
‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन,’ शाहले भनेका छन्, ‘भौगोलिक बनोटसँगै हाम्रो समाजको विविधता, संस्कृति, आर्थिक अवस्था र शासन प्रणालीलाई सँगसँगै अघि बढाउनुपर्छ ।’
यही बुझाइका आधारमा आफूले भारतमा ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर स्वदेश फर्किएको उनले बताएका छन् । देशमै केही गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गरेको उनको भनाइ छ।
काठमाडौँ महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा आफूले शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाहेको खण्डमा सीमित स्रोतसाधनका बीच पनि जनताको जीवनस्तर सुधार गर्न सकिने उदाहरण प्रस्तुत गरेको जिकिर गरेका छन्। महानगरमा सुरु भएका सुधार, पारदर्शी प्रणाली र कार्यशैलीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको संकेत पनि उनले गरेका छन्।
आगामी राजनीतिक यात्राबारे स्पष्ट धारणा राख्दै शाहले भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’
उनका अनुसार देश अब अल्पकालीन लोकप्रियताका लागि गरिने निर्णय र नारामुखी राजनीतिबाट माथि उठेर जनताको विश्वास जित्ने इमानदार नेतृत्व र जिम्मेवार शासन प्रणालीतर्फ अघि बढ्नुपर्ने अवस्थामा पुगेको छ।
शाहले राष्ट्र निर्माणको यस यात्रालाई कुनै एक व्यक्ति वा दलको अभियान मात्र नभई सुरक्षित र समुन्नत भविष्य चाहने सम्पूर्ण नेपालीको साझा प्रयासका रूपमा चित्रण गरेका छन्।