कमजोर तयारीमा राष्ट्रिय लिग खेल्दै क्लब
सुबास हुमागाईं, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ए डिभिजनका १३ र प्रेसिडेन्ट लिगका ४ सहित कुल १७ क्लबले बुधबारदेखि राष्ट्रिय लिग खेल्दैछन् । एन्फा कम्प्लेक्समा काँक्रेविहार क्लब र फ्रेन्ड्स क्लबबीच खेलसँगै लिगको सुरुवात हुनेछ ।
खेलको पूर्वसन्ध्यामा एन्फाले आयोजना गरेको प्रि-म्याच प्रेस कन्फरेन्समा सहभागी १७ मध्य १५ क्लब उपस्थित रहे । तीन विभागीय टोलीबाहेक अन्य क्लबले लिगको लागि तयारी राम्रो नरहेको नै बताए । प्रेसिडेन्ट लिगबाट छनोट भएको काँक्रेविहार र नव जन जागृति भने कन्फरेन्समा अनुपस्थित रहे ।
अधिकांश क्लबले एक साताभन्दा कम समय प्रशिक्षण गरेर लिग खेल्दैछन् । एन्फाले हतारमा तोकेको मितिका कारण कतिपय क्लबले टिम निर्माण गरेर भ्याएका पनि छैनन् । विदेशी खेलाडी अनुबन्धन पनि कमै टिमले गरेका छन् । यस्तोमा झन्डै ३ वर्षपछि सुरु हुने लिगको स्तरमा प्रश्न उठाउने प्रशस्त ठाउँ छन् ।
तर मछिन्द्रका कप्तान विशाल श्रेष्ठले भनेजस्तै कम्तिमा खेलाडीले खेल्न पाएका छन् । र उनले एन्फाले यस प्रतियोगितालाई ए डिभिजनको तयारीको रुपमा लिएको भन्ने आशा व्यक्त गरे । चर्च ब्वाइजका कप्तान एरिक विष्टले लिगको लागि अझ राम्रो वातावरण अपेक्षा राखेका छन् ।
सहभागी टोलीका प्रशिक्षक र कप्तान लिग सुरु हुनुअघि यसो भन्छन् ।
मछिन्द्र क्लब

‘तयारी सुरु गरेको एक साता भयो । फिटनेस अझै सोचेजस्तो भएको छैन । सबै आफैं-आफैं खेलिरहेका नै थियौं । युवा र अनुभवको सम्मिश्रण छ । हामी ए डिभिजनको अपेक्षा गरेका थियौं । तर राष्ट्रिय लिग भएपनि खेलाडीले खेल्न पाएका छन् । यसलाई ए डिभिजनको तयारीको रुपमा लिएका छौं । त्यसपछि बी र सी डिभिजन पनि निरन्तर हुन्छ भन्ने अपेक्षा छ ।’ – विशाल श्रेष्ठ, कप्तान
‘सोचेजस्तो तयारी हुन पाएको छैन । खेलाडीहरु गोल्डकपमा व्यस्त हुँदा हाम्रो सन्तोषजनक तयारू भएन । टिम राम्रो भएपनि प्रशिक्षण गर्न पाएका छैनौं । पहिला देख्ने गरेको जस्तो मछिन्द्र टिम यसपटक छैन । लक्ष्य भने उपाधि जित्ने नै रहेको छ । लिगको स्तर पनि पहिलाजस्तो हुँदैन । एन्फाले लिगअघि गोल्डकप मिति नदिएको भए तयारीमा असर गर्ने थिएन । लिगको बिचमा चुनाव पनि छ । आशा गरौं लिग नियमित नै संचालन हुनेछ ।’ – प्रवेश कटुवाल, मुख्य प्रशिक्षक
न्यू रोड टिम

‘हामीले लिगको लागि राम्रो तयारी गरेका थियौं । तर खेलाडीहरु अन्य क्लबबाट मोफसल खेल्दा असर गर्यो । प्रशिक्षण गर्न मैदानको समस्याले गर्दा पनि राम्रो तयारी भएको छैन । उपाधि जित्ने लक्ष्यका साथ नै खेलिरहेका छौं । दुई जापानीसहित ३ विदेशी अनुबन्ध गरेका छौं । अन्जन विष्ट, मनिष डांगी र कृतिश छुन्जु हुँदा आक्रमण बलियो छ ।’ – जीवन सिन्केमान, मुख्य प्रशिक्षक
‘लिगको लागि तयार छौं । छोटो समय भएपनि राम्रो तयारी भएको छ । लिगको अनुभवले राष्ट्रिय टोलीलाई पनि सहयोग हुने विश्वास छ । नयाँ खेलाडीले पनि लिगमा एक्सपोजर पाउँछन् ।’ – कृतिश रत्न छुन्जु, कप्तान
त्रिभुवन आर्मी फुटबल क्लब

‘तयारी राम्रो भएको छ । आफ्नै मैदान भएकाले प्रशिक्षणमा पनि समस्या छैन । बालगोपाल महर्जन प्रशिक्षकको भूमिकामा आउनुभएको छ । नयाँ र पुरानो खेलाडी सम्मिश्रण गरेर राम्रो टिम निर्माण गरेका छौं । एकेडेमीका खेलाडीले टिम छोडेर गएका खेलाडीको स्थान लिएका छन् । लिगमा सबै टिम उस्तै नै देखिन्छ । केहि खेलाडी विदेश गएकाले असर परेको हो । तर लिग जित्ने लक्ष्यका साथ अघि बढेका छौं ।’ – जितेन्द्र कार्की, सहायक प्रशिक्षक
‘तयारी राम्रो भएको छ । नियमित प्रशिक्षणमा पनि छौं । यसबिचमा टिमले डुरान्ड कप पनि खेल्यो । केहि खेलाडी पलायन हुँदा नयाँ खेलाडी आएका छन् । टिम सेट भएको छ । हाम्रो आन्तरिक प्रतियोगिता नियमित रुपमा हुँदा त्यसले पनि खेलाडी उत्पादनमा सहयोग गरेको छ । समग्रमा बलियो टिम निर्माण भएको छ ।’ – जर्ज प्रिन्स कार्की, कप्तान
मनाङ मर्स्याङ्दी क्लब

‘तयारी सुरु गरेको एक साता भयो । युवा खेलाडी समेटेर टिम बनाएका छौं । बी र सी डिभिजनका खेलाडी छन् । युवा खेलाडी र ३ विदेशी टिम निर्माण गरिएको छ । मनाङको सख जोगाउने दबाब त छ । अहिले राष्ट्रिय लिगलाई ए डिभिजनको तयारीको रुपमा लिएका छौं । केहि खेलाडी हामीले र केहि व्यवस्थापनले खोजेर दिएको हो ।’ – शैलेश कर्माचार्य, मुख्य प्रशिक्षक
‘युवा खेलाडी लिएर टिम बनेको छ । छोटो समय भएकाले राम्रो तयारी भएको छैन । नयाँ खेलाडीहरुलाई लिग खेलेको अनुभव बटुल्ने अवसर हुनेछ ।’ – नवराज गुरुङ, कप्तान
फ्रेन्ड्स क्लब

‘तयारी राम्रै भएको छ । हामीले युवा खेलाडीलाई नै समेटेर टिम बनाएकाt छौं । टिमले राम्रै खेल्छ भन्ने विश्वास गरेका छौं । मिहिनेतका साथ प्रशिक्षण गरेका छौं ।’ – रमेश महर्जन, प्रशिक्षक
‘टिम राम्रो बनेको छ । नेपाली खेलाडी मात्र समेटेर टिम बनाएका छौं । क्लबले विदेशी खेलाडी नराख्ने रणनीति लिएको छ । सबै सँगै खेलेका खेलाडी छौं । राम्रो प्रदर्शन गरेर अघि बढ्ने लक्ष्य राखेका छौं । ‘ – रुपेश केसी, कप्तान
श्री भगवती क्लब

‘अनुभवी खेलाडी छन् । दुई विदेशी खेलाडी पनि अनुबन्ध गरेका छौं । पूर्व राष्ट्रिय खेलाडी पनि टिममा छन् । पहिलो खेल हेरेर त्यसपछि कस्तो रणनीतिमा अघि बढ्ने हेर्नेछौं । टिम एकतामा ध्यान दिएका छौं । लक्ष्य शीर्ष ३ मा आउने हो’ – धनेश प्रजापति, सहायक प्रशिक्षक
‘लिग खेल्न लागेको जस्तो तयारी भएको छैन । नकाउट प्रतियोगिता खेल्न लागेको जस्तो छ । लिगको अनुभव बोकेका खेलाडीहरु टिममा छन् । राम्रो खेल्ने प्रयास गर्नेछौं ।’ – अशोक खवास, कप्तान
चर्च ब्वाइज युनाइटेड

‘एएफसी प्रतियोगिता खेल्ने लक्ष्य अनुसार नै टिम निर्माण गरेका छौं । लिगको च्याम्पियन बन्न नै तयारी रहेको छ । युवा खेलाडी पनि टिममा छन् । एकसाथ जम्मा भएर ५ दिन प्रशिक्षण गरेका छौं । राम्रो नतिजाको अपेक्षा छ ।’ – रमेश दंगाल, सहायक प्रशिक्षक
‘तयारी निकै कम छ । मैत्रीपूर्ण खेल पनि खेल्यौं । तर प्रशिक्षण नै भएको छैन । ३ विदेशी खेलाडी टिममा छन् । खेलाडीले कम्तिमा खेल्न पाएका छन् भन्ने हो । आशा छ आयोजक एन्फाले कम्तिमा राम्रो वातावरण सिर्जना गरिदिनुहुनेछ ।’ – एरिक विष्ट, कप्तान
सातदोबाटो युवा क्लब

‘प्रशिक्षण थोरै भएपनि हाम्रो टिममा युवा र अनुभवी खेलाडीको मिश्रण रहेको छ । टिम राम्रो बनेको छ । उपाधि जित्ने नै लक्ष्य छ ।’ – पासाङ लामा, कप्तान
‘१० दिनको तयारी गरेका छौं । खेलाडीहरु फिट नै छन् । उपाधि जित्ने लक्ष्य लिएर टिम निर्माण गरेका छौं । हालसम्म एक विदेशी खेलाडी पक्का भएको छ । नियममा उल्लेख भए अनुसार ३ जना अनुबन्ध गर्नेछौं ।’ – बालगोपाल साहुखल, मुख्य प्रशिक्षक
संकटा फुटबल क्लब

‘केहि सिनियर खेलाडी रधेरै एकेडेमी खेलाडी समेटेर टिम बनाएका छौं । जुनियर खेलाडीले डेब्यु गर्नेछन् । लिगमा राम्रो प्रदर्शन गर्ने र एउटा स्तरको खेल पस्कने योजना छ । खेलाडी दर्ता प्रक्रियामा ढिलाई गर्दा नाम चलेका खेलाडी ल्याउन सकिएन । विदेशी खेलाडीको हकमा अब आवश्यकता अनुसार अनुबन्ध गर्नेछौं ।’ – रविन्द्र सिलाकार, मुख्य प्रशिक्षक
‘तयारी राम्रो भएको छ । एक साता मात्र एकसाथ टिमको तयारी भएको छ । अधिकांश युवा खेलाडी छन् । गोल्डकपमा व्यस्त रहेकाले खेलेको त छ । तर लिग भने भएको थिएन । अब यसले राष्ट्रिय टोली निर्माणमा सहयोग पुग्ने विश्वास छ ।’ – टिकेन्द्र थापा, कप्तान
लालीगुराँस एसोसिएसन

‘मोफसलको टिम भएपनि हामीले ३ साता तयारी गरेका छौं । गण्डकीकै खेलाडीलाई प्राथमिकतामा राखेर पोखरामै तयारी सुरु गरेका हौं । काठमाडौं आएको ३ दिन भएको छ । सिनियर र जुनियर खेलाडीको सम्मिश्रण रहेको छ । केही विदेशी खेलाडी पनि राख्ने योजना छ । राम्रो खेल्ने अपेक्षा छ । मेरो खेल्ने शैली बुझेका खेलाडी छन् । ए डिभिजन खेलेका भिषण गुरुङसँगै उमेर समूह खेलेका राम र लच्छु थापा छन् । बी डिभिजन खेलेका खेलाडी पनि छन् । ३ विदेशी खेलाडीले टिम बलियो बनाएका छन् । प्रतिस्पर्धा गर्न सक्छन् भन्ने अपेक्षा छ ।’ – किरण श्रेष्ठ, मुख्य प्रशिक्षक
जावलाखेल युवा क्लब

‘तयारी राम्रो भएको छ । ३-४ साता भयो टिमको प्रशिक्षण सुरु गरेको । टिम राम्रो निर्माण भएको छ । ३ विदेशी खेलाडी आज आउँदैछन् । एकेडेमीका पनि केहि खेलाडीले यो सिजन खेल्ने अपेक्षा छ । लिग खेल्न आएपछि सबै टिमको लक्ष्य एकै हुन्छ, भनिरहनु परेन ।’ – सुनिल श्रेष्ठ, प्रशिक्षक
‘युवा खेलाडी छन् । हामीले कडा चुनौती दिने लक्ष्य राखेका छौं । विपक्षी टिम जो भएपनि कडा प्रतिस्पर्धा गर्ने सोच राखेका छौं ।’ – युनेश चौधरी, कप्तान
चितलाङ फुटबल क्लब

‘नयाँ टिम छ । ए डिभिजनको अनुभव कम छ । हाम्रो लक्ष्य राम्रो खेल पस्कने नै हो । अरु क्लबसँग कडा प्रतिस्पर्धा गर्ने लक्ष्य लिएर खेल्नेछौं । उमेर समूह खेलेका खेलाडी छन् । टोटल फुटबल खेल्ने लक्ष्य छ ।’ – प्रज्वल प्रतिप क्षेत्री, मुख्य प्रशिक्षक
‘टिम सन्तुलित नै बनेको छ । ए डिभिजन खेलेका र केहि नयाँ अनुहार टिममा छन् । विपक्षी टिमलाई प्रतिस्पर्धा दिनेछौं । प्रायोजक खोज्ने क्रम पनि जारी छ । अध्यक्षले व्यक्तिगत खर्च गरेर पनि टिम बनाउनुभएको छ ।’ – सकल रेग्मी, कप्तान
प्लानिङ ब्वाइज युनाइटेड

‘बी डिभिजनका अधिकांश खेलाडी टिममा निरन्तर छन् । उमेर समुहका राष्ट्रिय खेलाडी पनि समावेश गरेका छौं । विदेशी खेलाडी ल्याउन प्रक्रिया चलिरहेको छ । अहिले नै लिग जित्ने नै सम्भव त देखिन्न तर विश्वास भने हुनुपर्छ । पहिलो खेल खेलेपछि कहाँ छौं भन्ने थाहा हुन्छ ।’ – गणेश खड्का, सहायक प्रशिक्षक
‘टिममा धेरै युवा खेलाडी छन् । सिनियर भनेर धेरै अनुभव बोकेका खासै कोही छैन । उपाधि जित्ने नै लक्ष्य लिएर खेल्नेछौं । व्यक्तिगत रुपमा बी र सी डिभिजनमा राम्रो खेलेका छु । अब यो स्तरमा पनि प्रयास गर्नेछु । राष्ट्रिय टोलीबाट खेल्ने सपना त छ । अब हेरौं कहाँसम्म पुग्न सक्छु । तर सपना पूरा गर्न हरदम प्रयास रहनेछ ।’ – फागुरम थारु, कप्तान
नेपाल पुलिस क्लब

‘विभागीय टोली सधैं प्रशिक्षणमा रहने भएकाले तयारी एकदम राम्रो छ । आन्तरिक प्रतियोगिताबाट पनि खेलाडी छनोट गरेका छौं । उमेर समुहको लिग जितेको टोलीका खेलाडी पनि टिममा छन् । अनुभवको भने कमी रहेको छ । बिस्तारै टिममा समावेश हुँदै जानेछन् । फरवार्ड धिरेन्द्र शाह र केहि खेलाडीलाई अनुबन्ध गरेका छौं । फुटबलको माहोल फर्केको अनुभव हुड्ना खुसी छौं ।’ – चेतन घिमिरे, मुख्य प्रशिक्षक
‘विभागको खेलाडी भएपछि हाम्रो काम नै नियमित प्रशिक्षण हो । खेलाडी पलायन हुँदा अलि असर त परेको छ । तर समग्रमा सन्तुलित टिम निर्माण गर्न सकेका छौं । कागजमा बलियो नदेखेपनि एकसाथ खेलेको छ । प्रशिक्षकको योजनामा खेलेको कारण टिमलाई फाइदा हुन्छ । आफ्नो लागि पनि यो अवसर हो । खेलमा सुधार गरेको देखाएर राष्ट्रिय टोलीमा पर्न प्रयास गर्नेछु ।’ – राम वाजी, कप्तान
एपिएफ फुटबल क्लब

‘१० वर्षअघि थ्री स्टारको प्रशिक्षकको भूमिकामा राष्ट्रिय लिग जितेको थिएँ । अहिले एपिएफमा फर्केर राष्ट्रिय लिग खेलाउँदै छु । आशा छ सहिद स्मारक लिग पनि सुचारु हुनेछ । एपिएफमा यसअघि दुई सिजन काम गर्दा एकपटक पाँचौ र अर्कोपटक रेलिगेसन ब्याटलमा थिएँ । यसपटक राम्रो टिम रहेको छ । राष्ट्रिय टोली वरपर रहेका ४ खेलाडी छन् । शीर्ष ४ स्थान हासिल गर्ने लक्ष्यसहित टिम निर्माण गरेको छु । नियमित प्रशिक्षण भएकाले राम्रो हुने अपेक्षा छ ।’ – राजेन्द्र तामाङ, मुख्य प्रशिक्षक
‘टिमको तयारी राम्रो छ । गुरुले राम्रो तयारी गराउनुभएको छ । टिम हेर्दा पनि सबै पक्षमा सन्तुलन मिलेको छ । समग्रमा लिगको लागि राम्रो टिम बनाएका छौं ।’ – हरि कार्की, कप्तान
राष्ट्रिय लिगमा सहभागी नव जन जागृति युवा क्लब र काँक्रेविहार क्लबका प्रशिक्षक र कप्तान भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन् ।
The post कमजोर तयारीमा राष्ट्रिय लिग खेल्दै क्लब first appeared on हाम्रो खेलकुद.