npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपालको निर्वाचन कभरेज कस्तो छ ? [भिडियो]

इन्द्र कमल रोक्का 14 hours ago

काठमाडाैं । आगामी फागुन २१ म हुने गईरहेको निर्वाचनको विषयमा अन्तरराष्ट्रिय संचारमाध्यमहरुले निकै प्राथमिकताका साथ समाचार प्रस्तुत गरिरहेका छन् । विशेषत भाद्र २३ रु २४ गते भएको जेनजी आन्दोलनको पृष्ठभूमिमा निर्वाचन हुन गईरहेकाले अन्तरराष्ट्रिय चासो निकै देखिन्छ । अनि अन्तरराष्ट्रिय संचारमाध्यमको कभरेजको केन्द्रमा काठमाडौं महानगरपालिकका मेयर बालेन्द्र शाह रहेका छन् । उनी झापा ५ बाट पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन लडेका कारण सो निर्वाचन क्षेत्र पनि निकै चर्चामा छ । विशेषगरी नयाँ राजनीतिक शक्तिको उदय, जेन–जी आन्दोलनको प्रभाव,असंलग्न परराष्ट्र नीतिको भविष्य, र भ्रष्टाचारविरुद्धको बहसलाई महत्वपूर्ण विषय बनाएर उनीहरुले समाचार संकलन गरिरहेको देखिन्छ । समग्रमा हेर्दा, भारत लगायत पश्चिमा मुलुकका मिडियामा नेपालको निर्वाचनलाई बालेन केन्द्रित आँखाबाट हेरेको देखिन्छ । मिडिया कभरेज विश्लेषणात्मक, व्यक्तित्वकेन्द्रित र भूराजनीतिक दृष्टिले गरिएका छन् । तर, चिनियाँ संचारमाध्यमहरुमा भने नेपालको बारेमा खासै समाचार प्रकाशित भएको देखिदैन् ।

नयाँ राजनीतिक शक्तिप्रति झुकाव

धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले परम्परागत दलहरूको तुलनामा नयाँ राजनीतिक शक्तिलाई बढी स्थान दिएका छन् । पुराना दलहरूप्रति आलोचनात्मक दृष्टिकोण देखिएको छ भने नयाँ दललाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । गत हप्ता रोयटर्सलेले बालेन्द्र शाह प्रधानमन्त्रीको दौडमा अगाडि रहेको दाबी गर्दै एक विश्लेषणात्मक सामग्री प्रकाशित गरेको थियो, जसलाई उनका समर्थकहरुले सामाजिक संजालमा शेयर गरेका थिए । त्यस्तै, निर्वाचनमा को–को प्रतिस्पर्धामा छन् भन्ने विषयमा विस्तृत रिपोर्ट पनि सार्वजनिक गरेको छ । यसले व्यक्तित्वकेन्द्रित र प्रतिस्पर्धामुखी कभरेजलाई प्राथमिकता दिएको देखिन्छ । त्यसैगरी अलजजिराले के पूर्व र्‍यापर तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन शाह प्रधानमन्त्री बन्दैछन् ? भन्ने शीर्षका विश्लेषणात्मक सामाग्री प्रकाशित गरेको छ ।

असंलग्न परराष्ट्र नीतिमाथि बहस

एटलान्टा काउन्सिलले निर्वाचनपछिको नेपालको असंलग्न परराष्ट्र नीति कायम रहन्छ कि परिवर्तन हुन्छ भन्ने विश्लेषणात्मक सामाग्री प्रकाशित गरेको छ । पछिल्लो समय नेपालमा असंलग्न नीति परिवर्तन गर्नुपर्ने आवाज उठिरहेका सन्दर्भमा अन्तर्राष्ट्रिय विश्लेषकहरूले यस निर्वाचनलाई रणनीतिक मोडको रूपमा हेरेका छन् । भारत र चीनबीचको भूराजनीतिक अवस्थिति तथा पश्चिमी राष्ट्रहरूको चासोलाई ध्यानमा राख्दै नेपाललाई क्षेत्रीय शक्ति सन्तुलनको दृष्टिले महत्त्वपूर्ण देशका रूपमा चित्रण गरिएको छ ।

विशेषगरी थिङ्क–ट्याङ्क र रणनीतिक नीतिगत प्रकाशनहरूमा प्रकाशित अन्तर्राष्ट्रिय टिप्पणीहरूले नेपालको निर्वाचनले देशको सिमाना बाहिर समेत प्रभाव पार्ने कुरामा जोड दिएका छन्, । किनकी नेपाल, भारत र चीनबीच अवस्थित छ र रणनीतिक स्थानमा छ । नेपालको आगामी परराष्ट्र नीति, अन्तर्राष्ट्रिय संलग्नता तथा आर्थिक कूटनीतिको संकेतका लागि विश्व शक्तिहरूले निर्वाचन परिणामलाई नजिकबाट नियालिरहेका छन् ।

जेन–जेड आन्दोलन र डकुमेन्ट्री बहस

बीबीसीले जेन–जेड आन्दोलनको पृष्ठभूमिमा तयार पारेको डकुमेन्ट्री यतिवेला निकै चर्चामा छ । उक्त सामग्रीमा नेपोेकिड्स’ अभियानसँगै भ्रष्टाचारको मुद्दा जोडिएको थियो । सुशासनको पहलका निम्ती चुनावी अभियान केन्द्रमा रहेको डकुमेन्ट्रीमा उल्लेख गरिएको छ । नेपाल प्रहरीका तत्कालिन प्रमुख पूर्व आइजिपि चन्द्रकुवेर खापुङले सो डकुमेन्ट्रीप्रति आपत्ती जनाएका छन् । सो डकुमेन्ट्रीको विषयलाई लिएर हाल नेपाली समाज पुरै विभाजित भएको छ ।

आन्दोलनपछिको वैधता परीक्षण

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सन् २०२५ को जेन–जेड आन्दोलनपछि उत्पन्न राजनीतिक संकटलाई पृष्ठभूमिमा राख्दै यस निर्वाचनलाई राजनीतिक वैधताको पहिलो ठूलो परीक्षणका रूपमा व्याख्या गरेका छन् । सुरक्षा व्यवस्था, सम्भावित अस्थिरता र शान्तिपूर्ण मतदानको सुनिश्चितताप्रति विशेष चासो देखाइएको छ।

आर्थिक र सामाजिक मुद्दा

युवा बेरोजगारी, श्रम आप्रवासन, र भ्रष्टाचारलाई प्रमुख चुनावी मुद्दाको रुपमा रहेको अन्तरराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । धेरै युवा नेपालीहरू राजनीतिक परिवर्तनले रोजगारी सिर्जना गर्छ भन्ने विषयमा आशंकित रहेको सन्देश अन्तर्राष्ट्रिय रिपोर्टिङमा देखिन्छ । यसले सामाजिक निराशा र परिवर्तनको चाहनालाई अन्तर्राष्ट्रिय पाठकमाझ उजागर गरेको छ ।

भ्रष्टाचारको मुद्धा प्राथमिकतामा

अन्तरराष्ट्रिय संचारमाध्यमहरुले भ्रष्टाचारको विषयलाई निकै महत्वपूर्ण बनाएका छन् । उनीहरुले राजनीतिक दलहरुले भ्रष्टाचारको विषयलाई चुनावी अभियानमा प्राथमिकताका साथ उठाएको उल्लेख गरेका छन् । यो विषयलाई उनीहरुले भदौ २३ र २४ को जेनजी आन्दोलनसँग समेत जोडेका छन् ।

निष्कर्षमा भन्दा अन्तरराष्ट्रिय संचारमाध्यम नयाँ राजनीतिक शक्तिप्रति तुलनात्मक रुपमा सकारात्मक र आशावादी देखिन्छन् । उनीहरुले परम्परागत राजनीतिक दलप्रति आलोचनात्मक समाचार सामाग्री प्रकाशित गरेको देखिन्छ । साथै, उनीहरुको जोड नेपालको भावी परराष्ट्र नीतिमा देखिन्छ । उनीहरुले जेनजी आन्दोलन र भ्रष्टाचारको विषयलाई केन्द्रिय विषय बनाएको देखिन्छ भने समाचारहरु बढी व्यक्ति केन्द्रित देखिन्छ । समग्रमा, नेपालको निर्वाचनलाई केवल आन्तरिक राजनीतिक घटना मात्र नभई दक्षिण एशियाली क्षेत्रीय सन्तुलन, युवा राजनीतिक जागरण, र कूटनीतिक दिशानिर्देशनसँग जोडिएको महत्वपूर्ण अन्तर्राष्ट्रिय घटनाका रूपमा प्रस्तुत गरिएको देखिन्छ । नेपालका परम्परागत राजनीतिक दलहरुले भने केही अन्तरराष्ट्रिय संचारमाध्यमले गरेको कभरेजलाई नेपालमा भईरहेको ठूलो भूराजनीतिक खेलसँग जोडेर हेरेका छन् । हुन पनि अन्तरराष्ट्रिय संचार माध्यमले उठाएका विषय र ठूला मुलुकको निर्वाचनपतिको दृष्ट्रिकोणमा केही समानता पनि देखिन्छ ।

Read more news from Kendrabindu

Explore by Source or Category