NepalWatch
लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः फुट्यो कांग्रेस
काठमाडौँ । नेपाली कांग्रेस लामो समयदेखिको आन्तरिक द्वन्द्वपछि अन्ततः विभाजित भएको छ ।
संस्थापन पक्ष (शेरबहादुर देउवा समूह)ले महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पार्टीको अनुशासन उल्लङ्घन गरेको अभियोगमा ५ वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ ।
यता विशेष महाधिवेशन पक्षले भृकुटीमण्डपमा जारी महाधिवेशनमार्फत सभापति पदमा गगन थापालाई निर्वाचित गर्ने प्रक्रिया अघि बढाइसकेको छ । विशेष महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गरी रूपान्तरणको बाटो अपनाउने दाबी गरेको छ ।
देउवा पक्षले पार्टी चुनावमा जानुपर्ने अवस्थामा विशेष महाधिवेशन गर्न नसकिने अडान राख्दै आएको थियो । केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन वैशाखको अन्तिम साता गर्ने मिति समेत तोकेको थियो । तर कांग्रेसका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले यसअघि नै विशेष महाधिवेशनको माग गरेका थिए ।
विशेष महाधिवेशन पक्षधरले विधानमा व्यवस्था भएअनुसार ५४ प्रतिशत प्रतिनिधिको मागलाई नजरअन्दाज गर्न नहुने अडान लिए ।
पुस २८ भित्र विशेष महाधिवेशन बोलाउन दिएको निवेदनको समयसीमा सकिन लागेपछि उनीहरूले जसरी पनि महाधिवेशन गर्ने अडान कायम राखे । त्यसपछि भृकुटीमण्डपमा विशेष महाधिवेशनको प्रक्रिया सुरु भयो ।
पार्टी विभाजन रोक्न दुवै पक्षले पटक–पटक वार्ता टोली गठन गरी सन्देश आदानप्रदान गरे पनि कुनै पक्षले अडान छोडेन ।
नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको मागलाई संस्थापन पक्षले सम्बोधन गर्न तयार नभएपछि कांग्रेस दुई धारमा विभाजित भएको हो । निष्कासनपछि गगन थापाले प्रतिक्रिया दिँदै भने, ‘कांग्रेस कसैको प्राइभेट कम्पनी होइन । मैले इतिहास बनाएको पार्टी हो, आन्दोलन हाँकेको पार्टी हो ।