नेपाल एसबिआई बैंक लुट प्रकरणः असोजदेखि नै थियो बैंक लुट्ने योजना, २३ र २८ गते ट्रायल गरेर २९ गते काम तमाम !
सिन्धुली । नेपाल एसबिआई बैंकको शाखा लुट्ने योजना लुटेराहरुले गत असोजमै बनाएको र २ पटकको असफल प्रयास पछि तेश्रो पटकमा बैंक लुटेको खुलासा भएको छ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा भएको लुटपाटका लागि घरभेटीकै सहयोगमा योजना बनेको खुलासा भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले दिएको जानकारी अनुसार बैंक लुट्न लुटेराहरु गत पुष २३ गते नै भाडाका मोटरसाइकल लिएर पुगेका थिए । तर, त्यतिबेला बैंक लुट सफल हुन नसकेपछि उनीहरु रित्तो हात फर्किएका थिए ।
त्यसपछि पुन उनीहरु पुष २८९ गते बैंक लुट्न जाने भन्दै कोटेश्वर भेला भएका थिए । तर, त्यतिबेला उनीहरुबीच छलफल हुँदाहुँदै ढिलो भएपछि उनीहरु पुष २९ गते सार्वजनिक बस चढेर बनेपा पुगेको र त्यहाँ केटी भगाउने भन्दै टाटा सुमो रिजर्भ गरेर बैंक लुट्न पुगेको अनुसन्धानबाट खुलेको छ ।
पुष २९ गते घरभेटीको डिजाइन अनुसार नै सुरुमा बैंक प्रवेश गरेको, गार्ड र कर्मचारीको हात खुट्टा बाँधेर, मुखमा टेप टाँसेर, नक्कली पेस्तोल देखाई लुटपाट भएको थियो । लुटेराहरु हिंडेपछि घिस्रीदै कर्मचारीहरुले प्रहरीलाई फोन गरेका थिए ।
सुरुमा बैंक पुगेर प्रहरीले बन्धक बनाइएका कर्मचारीको उद्धार गरेको थियो भने सुरक्षा गार्ड रुद्र कार्कीको उप गरिएको थियो । कुल ५० जनाको टोली बनाएर सर्च अपरेशनमा निस्किएको प्रहरी टोलीले घटनास्थलबाट २ किलोमिटर पूर्व लिपिखोला भन्ने ठाउँमा रिजर्भमा लगिएको टाटा सुमो र चालक भगवत सिंह थापालाई फेला पारेको थियो । त्यसपछि प्रहरी र स्थानीयहरुले जंगल जंगल सर्च गरी लुटिएको पैसा भेट्टाएका थिए ।
प्रहरीका अनुसार बैंक बसेको घरका घरधनी छविलाल स्याङ्तान नै यो घटनाको मुख्य योजनाकार रहेको खुलासा भएको छ । प्रहरीले घरधनी स्याङ्तान र माघ १ गते जंगलमा लुकिछिपी बसेका अर्का अभियुक्त घरधनीका जेठान चतुरमान बज्युलाई समेत पक्राउ गरिसकेको छ ।
अन्य पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक साविक फलामेटार–२ भई हाल बनेपा बस्ने सुमो चालक भगवत सिंह थापा, सिन्धुली घ्याङलेख–२ का चतुरमान बज्यु, चितवन भरतपुरका सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्याका निरन गिरी र विवेक थापा, घरधनी छविलाल स्याङ्तान र एक १६ वर्षभन्दा कम उमेरका किशोर रहेका छन् । प्रहरीले लुटिएको नगदका साथै घटनामा प्रयोग भएका २ थान खुकुरी, १ थान प्लास्टिकको नक्कली पेस्तोल, ५ थान मोबाइल, १ थान ठूलो टेप, ३ थान कालो नकाब, १ थान रातो नकाब र एक जोर कालो पञ्जा समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरूलाई पुस २९ गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।