चुनाव नजिकिँदा गुल्मीमा निर्वाचन प्रहरी संकट, आवेदनका लागि दुई दिनको म्याद थप
गुल्मी। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरी नपुग्दा आवेदन दिने म्याद दुई दिन थप गरिएको छ।
नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक परे पनि हालसम्म १ हजार १२८ जनाबाट मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। तोकिएको कोटाभन्दा उल्लेख्य रूपमा कम आवेदन आएपछि शुक्रबार र शनिबारसम्मका लागि म्याद थप गरिएको कार्यालयको भनाइ छ।
यसैगरी, सशस्त्र प्रहरी बलतर्फ पनि अवस्था उस्तै रहेको छ। जिल्लामा १७९ जना निर्वाचन प्रहरी आवश्यक रहेकामा हालसम्म १३१ जनाको मात्रै आवेदन दर्ता भएको छ। अपेक्षित संख्यामा आवेदन नपरेपछि सशस्त्र प्रहरीतर्फको आवेदन अवधि पनि बढाइएको जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचन सुरक्षालाई मजबुत बनाउने उद्देश्यले आवश्यक जनशक्ति पूर्ति गर्न म्याद थपिएको हो। प्रशासनले तोकिएको योग्यता पूरा गर्ने इच्छुक युवालाई तोकिएको समयभित्र आवेदन दिन आग्रह गरेको छ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त सुरक्षाकर्मी अपरिहार्य भएकाले थप गरिएको दुई दिनको अवधिमा आवेदन संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको प्रशासनको भनाइ छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना प्रक्रिया जारी रहेको छ।