Sutra News
पानी उद्योगका म्यानेजरले जागिरबाट निकाले, मदिराको सहारामा २ जना मिलेर ज्यान लिए
काठमाडौं । बारामा पानी उद्योगका म्यानेजर रामकिशोर सिंहको हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रसौनी–६ भलुही चोकस्थित किरण बेभरेज नेपाल प्रालिका म्यानेजर सिंहको शव मंसिर १२ गते उद्योग नजिकैको खाल्डोमा फेला परेको थियो।
उनलाई छुरा र इँटाले प्रहार गरी हत्या गरिएको प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जनाए।
पक्राउ पर्नेमा वीरगन्जका २१ वर्षीय राजनकुमार राम र ३२ वर्षीय प्रामोद साह तुरहा छन्।
प्रहरीका अनुसार पानी बिक्रीमा अनियमितता गरेको कुरा म्यानेजरले थाहा पाएपछि मंसिर १० मा राजनकुमारलाई कामबाट हटाइएको थियो। त्यसको बदला लिन उनले साथी प्रमोदसँग मदिरा सेवनपछि हत्या योजना बनाएको बयान दिएका छन्।
मंसिर ११ राति दुवैले धारिलो हतियारसहित उद्योगभित्र पसी सिंहको हत्या गरेका थिए। प्रहरीले दुवैलाई भारत भाग्न खोज्दै गर्दा १६ घण्टामै पक्राउ गरेको हो।
आरोपीहरूविरुद्ध कर्तव्यज्यान मुद्दामा अनुसन्धान जारी छ। प्रयोग भएका छुरा र इँटा समेत बरामद गरिएको प्रहरीले जनाएको छ।