npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

झापामा एकै दिन १२ दुर्घटना, आमा-छोरीसहित ३ को मृत्यु, ३२ जना घाइते

Saral Patrika 13 hours ago

झापा । माघे सङ्क्रान्तिको दिन झापाका विभिन्न स्थानमा भएका १२ वटा सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन्। ३२ जना घाइते भएका छन्। यी दुर्घटनामध्ये एउटा घटनामा नाबालिका छोरी र आमाको मृत्यु भएको छ भने अर्को घटनामा श्रीमानको मृत्यु भई श्रीमतीको आईसीयूमा उपचार भइरहेको छ।

कनकाई नगरपालिका–३ नयाँबस्तीमा बस र पिकअप एकापसमा ठोक्किँदा डेढ वर्षीया आरुति राजवंशी र उनकी ४० वर्षीया आमा सुस्मा राजवंशीको मृत्यु भएको छ। पिकअपमा सवार उनीहरूमध्ये आरुतिको अस्पताल लैजाने क्रममा र सुस्माको उपचारका क्रममा ज्यान गएको हो। सोही दुर्घटनामा अन्य एक दर्जन व्यक्ति घाइते भएका छन्।

बिर्तामोड–५ स्थित पूर्व–पश्चिम लोकमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीय खगेन्द्र मगरको मृत्यु भएको छ। ठक्करपछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको थियो। मृतककी श्रीमती २५ वर्षीया सुकमाया तामाङ गम्भीर घाइते भई बीएण्डसी अस्पतालको आईसीयूमा उपचाररत छिन्। प्रहरीले फरार ट्रक चालक सुनिल न्यौपानेलाई नियन्त्रणमा लिएको छ।

सोही दिन हल्दिबारी, शिवसताक्षी, गौरादह, दमक, भद्रपुर, अर्जुनधारा, बुद्धशान्ति, बाह्रदशी र कनकाईका विभिन्न स्थानमा भएका दुर्घटनामा अन्य २० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेहरूमा ६ वर्षीया बालिकासहित पैदलयात्री र एकै परिवारका सदस्यहरू समेत रहेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अधिकांश दुर्घटना तीव्र गति, ओभरटेक गर्दाको लापरबाही र सवारी साधन अनियन्त्रित हुँदा भएका हुन्। चाडपर्वका दिनमा हुने सवारी चाप र अनुशासनहीनताले गर्दा झापाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गम्भीर चुनौती थपिएको छ।

Read more news from Saral patrika

Explore by Source or Category