npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

आइपीओ निष्कासनका लागि कमिसन उठाउन बिचौलियाको नयाँ फर्मूला, ‘हिमालयन ब्रोकरेज जानु’

Sudarshan Sapkota 2 hours ago

काठमाडौं। ऊर्जा उद्यमीले साधारण सेयर निष्कासन (आइपीओ) गर्दा कमिसन मागिएको सार्वजनिक गरेपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र उनलाई अध्यक्ष बनाएकाहरुले पैसा उठाउने रणनीति परिवर्तन गरेका छन्।

उनीहरुले सेयर प्रत्याभूतकर्ता अर्थात ‘अण्डरराइटिङ’ कम्पनीलाई प्रयोग गरेर पैसा उठाउन थालेका छन्। 

हिमालयन रि इन्स्योरेन्सको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरमार्फत उनीहरुले कमिसन उठाउन थालेका छन्। 

दीपक भट्ट, सुलभ-साहिल अग्रवाल लगायतको नेतृत्वमा २५ बढी व्यावसायिक घराना मिलाएर ‘प्रिपेड’ समूह तयार पारिएको छ। यो समूहले हिमालयन रि इन्स्योरेन्स चलाउँछ। 

पहिले बिचौलिया प्रयोग गरेर उर्जा उद्यमीहरुसँग पैसा माग्ने गरिएको धन्दा सार्वजनिक भएपछि आइपीओ अनुमति लिन जानेसँग कम्पनी प्रयोग गरेर पैसा उठाउन थालिएको हो।

यसरी हुन थाल्यो पैसाको डिल

२०७२ को भूकम्पपछि सस्तो दरमा घर बनाउने भन्दै चितवनमा एउटा उद्योग खोलियो- एसवाइ प्यानल नेपाल लिमिटेड। कोरियाली कम्पनी र नागरिकहरुले खोलेको कम्पनीले व्यापार विस्तार गर्दै जाँदा २०८० असोज १९ गते साधारण सेयर निष्कासन गर्ने भन्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो।

https://bizmandu.com/print/news/29294.html

लामो समय धितोपत्र बोर्ड प्रशासनले कम्पनीलाई हल्लायो। तर, कम्पनीका सञ्चालकहरुको हिमचिम बिचौलिया समूहका नाइकेहरुसँग थियो। उनीहरुको उत्पादनको ६६ प्रतिशत कारोबार साहिल अग्रवाल अध्यक्ष रहेको जगदम्बा स्टिलसँग थियो। जगदम्बा स्टिलमा हिमालयन रि इन्स्योरेन्सकी प्रमुख लगानीकर्ता उपासना पौडेल लामो समय सञ्चालक थिइन्। साहिल अग्रवाल हिमालयन रिमा सञ्चालक छन्।

तर यो हिमचिमले काम गरेन। कम्पनीले साधारण सेयर निष्कासन गर्ने अनुमति पाइरहेको थिएन। सन्तोषनारायणलाई यही समूहले बोर्डको अध्यक्ष बनाएको थियो। अर्को भाषामा भन्दा यो समूहको प्रमुख सदस्यमध्येका सन्तोषनारायण हुन्। दीपक भट्टको कम्पनीसँग सन्तोषनारायणको आर्थिक कारोबारको पुष्टि भइसकेको छ।

कमिसन सोझै माग्दा बद्नाम भइसकेकाले यो समूहले ‘आइडिया’ लगायो- भर्खरै खोलिएको हिमालयन ब्रोकरेजलाई व्यापार दिलाउने। हिमालयन ब्रोकरेजलाई २ प्रतिशत कमिसनमा अन्डरराइटर बनाए एसवाइ प्यानलको सेयर निष्कासन अनुमति दिने।

दुवै पक्षको मिलेमतोपछि विना प्रतिस्पर्धा एसवाइ प्यानलको अन्डरराइटर हिमालय ब्रोकरेज नियुक्त भयो। २०८२ भदौ १७ गते कम्पनीले साधारण सेयर निष्कासन गर्ने अनुमति पायो। अहिले कम्पनीले सेयर जारी गरिसकेको छ।

जबकी यही पेरिफेरीमा साधारण सेयर जारी गर्ने अनुमति पाएकाहरुले अधिकतम ०.५ प्रतिशत मात्र कमिसन तिरेका छन्। सजिलै सेयर बिक्री हुने कम्पनी एसवाइ प्यानलले भने २ प्रतिशत कमिसन तिरेको छ।

बुंगल हाइड्रो, जसमा सन्तोषनारायणका परिवारको लगानी छ, उक्त कम्पनीले जम्मा ०.५ प्रतिशत मात्र कमिसन तिरेको छ। प्रतिस्पर्धामा गएका हिमालयन रिले नै ०.३ प्रतिशत, श्रीनगर आर्किटेकले ०.२ प्रतिशत, सागर डिस्टिलरीले ०.४४ प्रतिशत, झापा इनर्जीले ०.५ प्रतिशत मात्र कमिसन तिरेका छन्। 

हिमालयन ब्रोकरेज नयाँ कम्पनी भएकाले यसको व्यापार छैन। प्रतिस्पर्धी सेवा पनि यसले दिन सकेको छैन। त्यही भएर अवैध रुपमा डिल हुने गरेको कमिसनलाई व्यापारमा परिवर्तन गरेर महँगो शुल्क उठाउन थालिएको हो।

अहिले बोर्डमा आवेदन दिनेहरुसँग सन्तोषनारायणको ‘टिम’ ले हिमालयन ब्रोकरेजमार्फत काम गरे आइपीओ अनुमति चाँडो गरिदिने भन्ने गरेका छन्। 

प्री-आइपीओको धन्दामा रहेकाहरुले अहिले हिमालयन ब्रोकरेजकोमा जान थालेको सार्वजनिक रुपमै उपलब्ध कागजातहरुबाट देखिन्छ।

The post आइपीओ निष्कासनका लागि कमिसन उठाउन बिचौलियाको नयाँ फर्मूला, ‘हिमालयन ब्रोकरेज जानु’ appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category