npl.977 Nepal News Stream

Kendrabindu logo Kendrabindu

अस्पताल स्थापनाको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा

इन्द्र कमल रोक्का 3 hours ago

गण्डकी। पोखरा महानगरपालिका–१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ अन्तर्गतको हिमालय आँखा अस्पतालले स्थापना भएको ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ ।

३३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले २०४९ सालमा स्थापना भएको अस्पतालले हालसम्म ४३ लाख नागरिकलाई सेवा दिएको जानकारी दिइन्। उनका अनुसार सन् २०२५ मा मात्रै दुई लाख ४७ हजार ५८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८४१ जनाको शल्यक्रिया गरिएको छ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरका अनुसार ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना नेपाली जनशक्ति कार्यरत छन्। अस्पतालले गण्डकी र कर्णाली प्रदेशमा २७ उपचार केन्द्र र दुई सहायक अस्पतालमार्फत सेवा प्रदान गर्दै आएको छ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने र स्वास्थ्य पर्यटनसँग जोड्ने योजना रहेको बताए।

नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा. डा. चेतराज पन्तले पूर्वाधार विकासका लागि सरकारी सहयोग आवश्यक रहेको बताए। उपाध्यक्ष प्रा. डा. दिलबहादुर क्षेत्री र महासचिव भरतबहादुर चन्दले अस्पतालको सेवा विस्तारबारे जानकारी गराए।

कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा डा. अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठलाई सम्मान गरिएको थियो। विभागतर्फ जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिटलाई पुरस्कृत गरिएको थियो।

अस्पतालमा लामो समय योगदान दिएका गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडू, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई पनि सम्मान गरिएको अस्पताल प्रशासनले जनाएको छ।

Read more news from Kendrabindu

Explore by Source or Category