PalikaNews
साकेला गाउँपालिकामा तीव्र विकास, श्रमदान र सांस्कृतिक पहिचानसँग जोडिँदै समृद्धिको यात्रा
खोटाङ — साकेला गाउँपालिकामा विकासका बहुआयामिक गतिविधिहरू तीव्रगतिमा अघि बढिरहेका छन् । गाउँपालिकाको मुख्य प्रवेशद्वार साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काइवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने भित्तेचित्रहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई फरक अनुभूति दिलाउने गरेको छ ।
स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचना निर्माण गरिनुले गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देखिन्छ । विकासलाई कागजी प्रक्रिया मात्रमा सीमित नराखी प्रत्यक्ष कार्यान्वयनमा उतार्ने कार्यशैलीले साकेला गाउँपालिकालाई अनुकरणीय बनाएको स्थानीयको भनाइ छ ।
यी सबै विकासका गतिविधिको नेतृत्व स्वयं गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गरिरहेका छन् । अध्यक्ष राई नियमित रूपमा कर्मचारीहरूसँग श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन सक्रिय रहँदै आएका छन् । नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ ।
गाउँपालिकाले अघि सारेको ‘श्रम साकेला अभियान’ अन्तर्गत जनश्रमदानलाई विकासको प्रमुख आधार बनाइएको छ । यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र आकर्षक बन्दै गएका छन्। सरसफाइको क्षेत्रमा साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको बताइन्छ।
यसका साथै गाउँपालिकाभित्र रहेका सार्वजनिक सम्पदाको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थलहरूको नियमित सरसफाइ र सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रियता निरन्तर देखिँदै आएको छ । विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोड्नु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ ।
स्थानीयवासीका अनुसार स्पष्ट दृष्टिकोण, योजनाबद्ध विकास र निरन्तर श्रमदानका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । अध्यक्ष राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा बलियो बन्दै गएको स्थानीयको भनाइ छ ।
आफ्नो कार्यकालभित्र जनजीविकासँग जोडिने विकास–निर्माणका गतिविधिसँगै पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको अध्यक्ष राईले बताए । “हामी निर्वाचित भएर आएपछि जनजीविकाका कामसँगै गाउँपालिकाभित्रका सबै धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति गरिरहेका छौँ,” उनले भने,“साकेला आफैँमा पर्यटकीय गन्तव्य भएकाले यहाँका गन्तव्यहरूको विकासले रोजगारी सिर्जना र आन्तरिक आम्दानी वृद्धि गर्नेछ।”
जिल्लाकै सबैभन्दा सानो, पाँच वडामात्र रहेको साकेला गाउँपालिकामा वडा नम्बर २ रतन्छामा साकेला पार्क र वडा नम्बर ३ खिदिमामा सहिद पार्क निर्माण भइसकेको छ । यस्तै तावाताल निर्माणको कामसमेत अगाडि बढाइएको उपाध्यक्ष बिर्सिकाले जानकारी दिए । गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न स्थलहरूको स्तरोन्नति र प्रवद्र्धनलाई तीव्रता दिइएको उनको भनाइ छ।
गाउँपालिकाले स्थानीय रूपमा उपलब्ध पात्ले, ढाल्ने र सालका काठ प्रयोग गरी होर्डिङ बोर्ड निर्माण गरेको छ भने टोल–टोलसम्म पुग्ने बाटो र स्थानको नाम अङ्कित दिशानिर्देशक चिह्न (डाइरेक्सन बोर्ड) राखिएको छ । पालिकाको सीमा क्षेत्रमा आठ स्थानमा स्वागत तथा बिदाइ बोर्ड राखिएको छ भने हरेक टोल र बस्ती प्रवेश गर्ने दोबाटोमा डाइरेक्सन बोर्ड जडान गरिएको छ ।
यी दिशानिर्देशक चिह्नका कारण पहिलोपटक साकेला गाउँपालिका पुग्ने आगन्तुकले समेत सजिलै सबै वडा घुम्न सक्ने अवस्था बनेको छ । गाउँपालिकाले राखेका कलात्मक होर्डिङ बोर्ड र संकेतचिह्नहरूले साकेला संस्कार, संस्कृति र सभ्यताले सुसज्जित गाउँपालिका भएको अनुभूति गराउने गरेको छ ।