npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

कांग्रेस सभापति थापा भन्छन्- कुनै सामग्री सेयर गर्नुअघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्

नेपालन्युज 6 hours ago

काठमाडौँ। निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आपत्ति जनाएका छन्।

सभापति थापाले आफूलगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरे। उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लंघन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा ‘रिपोर्ट’ गर्न अपिल गरेका छन्। उनले विशेषगरी फेसबुक, टिकटक, यु-ट्युबलगायत माध्यममा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरे।

“कुनै पनि सामग्री सेयर गर्नुअघि एकछिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” सामाजिक सञ्जालमार्फत सभापति थापाले आग्रह गरेका छन्। उनका अनुसार अत्यधिक भड्काउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताएका छन्।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गरेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category