PalikaNews
सुक्दै गएका मुहान जोगाउन पालिकाको पहल , जलाधार संरक्षणमा २५ लाख लगानी
भोजपुर : जलवायु परिवर्तन र बढ्दो मानवीय गतिविधिका कारण सुक्दै गएका प्राकृतिक मुहान जोगाउन भोजपुरको रामप्रसादराई गाउँपालिकाले जलाधार क्षेत्र संरक्षण अभियान अघि बढाएको छ । पानीका स्रोतहरू घट्दै जाँदा भविष्यमा उत्पन्न हुन सक्ने जलसङ्कटलाई मध्यनजर गर्दै गाउँपालिकाले योजनाबद्ध रूपमा संरक्षणका काम थालेको हो ।
गाउँपालिका–३ स्थित भुल्के क्षेत्रमा नेपाल जलवायु अनुकूलन कार्यक्रमअन्तर्गत पाँचधारे र तीनधारे मुहानको संरक्षण तथा आवश्यक संरचना निर्माण गरिएको छ । करिब २५ लाख रुपैयाँको लागतमा मुहान संरक्षण, घेराबारा, रिचार्ज पोखरी निर्माण, करिब दुई सय मिटर सिँचाइ कुलो निर्माण, विश्रामस्थल र शौचालय निर्माणलगायतका काम सम्पन्न भएको वडाध्यक्ष रामु थापामगरले जानकारी दिए ।
संरक्षण गरिएका मुहान हाल खानेपानी र सिँचाइ दुवै प्रयोजनका लागि प्रयोग हुँदै आएका छन्, जसले स्थानीय बासिन्दाको दैनिकीमा प्रत्यक्ष सुधार ल्याएको छ ।
जलवायु परिवर्तनको असर घटाउन प्रयास
“प्राकृतिक प्रकोप र बढ्दो मानवीय गतिविधिका कारण धेरै मुहान सुक्दै गएका छन्,” वडाध्यक्ष थापामगरले भने, “दीर्घकालीन रूपमा पानीको स्रोत जोगाउन यो कार्यक्रम सञ्चालन गरेका हौँ ।” उनका अनुसार निर्माण गरिएको रिचार्ज पोखरीले भू–जल पुनर्भरणमा सहयोग पुर्याउँदै मुहान सुक्न नदिन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यसअघि सोही क्षेत्रमा ठूलो मुहान र लम्साल मुहानको पनि संरक्षण गरिएको थियो । स्थानीय प्रकाश बानियाँका अनुसार विगतमा मुहान संरक्षण नहुँदा खानेपानीको समस्या झेल्नुपरे पनि अहिले अवस्था सुधारिएको छ। “संरक्षणपछि निकै सहज भएको छ, रिचार्ज पोखरीले पानीको मात्रा स्थिर राख्न मद्दत गरेको छ,” उनले भने, ।
जलाधार संरक्षणलाई प्राथमिकता
गाउँपालिका अध्यक्ष थामबहादुर राईले जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा जलस्रोतमा नकारात्मक असर परिरहेको उल्लेख गर्दै स्थानीय तहले जलाधार संरक्षणलाई प्राथमिकतामा राखेको बताए । “प्राकृतिक रूपमा रहेका मुहानको खोजी, पहिचान र संरक्षणको काम गरिरहेका छौँ,” उनले भने, “यी स्रोत जोगाउन नसके भविष्यमा ठूलो सङ्कट आउन सक्छ।”
उनका अनुसार सडक विस्तार र अन्य पूर्वाधार निर्माणका कारण पनि मुहान सुक्ने जोखिम बढेकाले गाउँपालिका सचेत भएर संरक्षणका उपाय अवलम्बन गरिरहेको छ । नेपाल जलवायु अनुकूलन कार्यक्रममार्फत प्राप्त बजेटलाई वातावरण संरक्षण र दिगो विकासमा खर्च गरिएको उनको भनाइ छ ।
भुल्के क्षेत्रमा गरिएको संरक्षण कार्यले स्थानीय बासिन्दालाई तत्काल राहत प्रदान गर्नुका साथै दीर्घकालीन रूपमा वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पुग्ने गाउँपालिकाको विश्वास छ । जलस्रोत संरक्षणलाई विकाससँग सन्तुलित रूपमा जोड्ने प्रयासका रूपमा यस अभियानलाई उदाहरणीय कदमका रूपमा हेरिएको छ ।