NepalWatch
कांग्रेस विवाद : निर्णायक छलफलमा जुटे देउवा र महामन्त्रीद्वय
काठमाडौं । कांग्रेस विवादको समाधान निकाल्न पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा निर्णायक छलफलमा जुटेका छन् ।
विशेष महाधिवेशन र संस्थापन पक्षधर नेताबीच सहमतिका लागि विभिन्न चरणमा भएका हिजो र अस्तिका वार्ताले निकास निकाल्न नसकेपछि पार्टी सभापति देउवा र महामन्त्रीद्वय निर्णायक संवादमा जुटेका हुन् ।
देउवाले महामन्त्रीद्वयलाई बोलाएपछि दुई पक्षबीच अहिले संवाद चलिरहेको विशेष महाधिवेशन पक्षधर एक नेताले जानकारी दिए ।
कांग्रेसका संस्थापनइतर समूहले काठमाडौंको भृकुटीमण्डपमा पुस २७ देखि विशेष महाधिवेशन गरिरहेको छ । नयाँ नीति र नेतृत्व चयन गर्ने तयारीसाथ महाधिवेशन अघि बढिरहेका बेला पार्टी विभाजन हुन नदिन दुुई पक्षबीच लगातार वार्ता र संवाद चलिरहेका छन् । मंगलबार पनि दुुई पक्षका वार्ता टोलीबीच विभिन्न चरणमा संवाद भएको थियो । तर अहिलेसम्म मिलनबिन्दु भेटिन सकेको छैन । बरु संस्थापन पक्ष सहमतिमा नआए नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाउने तयारीमा जुटेको छ । यसले कांग्रेसमा स्पष्ट विभाजन ल्याउने देखिएपछि दुुई पक्ष संवादमा जुटेका हुन् ।