npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

इरान युद्धमा ६ अमेरिकी सैनिकको मृत्यु, १८ घाइते

नेपाल न्युज 13 hours ago

काठमाडौँ। इरान विरुद्धको अमेरिकी सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’ मा ज्यान गुमाउने अमेरिकी सैनिकहरूको संख्या ६ पुगेको छ।

हालसम्म १८ अमेरिकी सैनिकहरू घाइते भएका छन्। घाइतेहरूको अवस्थाबारे पेन्टागनले थप विवरण सार्वजनिक गरेको छैन।

अमेरिकी सेन्ट्रल कमाण्डले थप एक गम्भीर घाइते सैनिकको उपचारका क्रममा मृत्यु भएको र हराइरहेका दुई सैनिकको शव फेला परेपछि मृतकको संख्या ६ पुगेको पुष्टि गरेको हो।

अमेरिकी युद्ध मन्त्री पिट हेगसेथले सोमबार आयोजित पत्रकार सम्मेलनमा इरानको एउटा क्षेप्यास्त्र अमेरिकी वायु रक्षा प्रणालीलाई छल्दै सैन्य अखडामा खसेको जानकारी दिए।

उनका अनुसार उक्त क्षेप्यास्त्र कुवेतस्थित अमेरिकी ‘ट्याक्टिकल अपरेसन्स सेन्टर’ मा लागेको थियो। हेगसेथले अमेरिकी रक्षा प्रणाली अत्यन्तै मजबुत भए तापनि कहिलेकाहीँ प्राविधिक भाषामा ‘स्क्विर्टर’ भनिने केही क्षेप्यास्त्रहरू छिर्न सफल हुने र त्यसले क्षति पुर्‍याउने स्वीकार गरे।

गत शनिबार अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण सुरु गरेका थिए। उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र अन्य उच्च पदस्थ नेताहरूको मृत्यु भएको छ।

इरानी रेड क्रिसेन्ट सोसाइटीका अनुसार सुरुवाती आक्रमणमै ५५५ जना इरानी नागरिक तथा सुरक्षाकर्मीहरूले ज्यान गुमाइसकेका छन्।

Read more news from नेपाल न्युज

Explore by Source or Category