npl.977 Nepal News Stream

Sutra News logo Sutra News

सूत्र मिडियाका सम्पादक सिटौला अनेसासबाट पुरस्कृत

सुत्र न्युज 3 hours ago

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा सूत्र मिडियाका सम्पादक लक्ष्मण सिटौला पुरस्कृत भएका छन् । ‘धर्तीको ध्वनि’ गीत संग्रहका रचनाकार सिटौलालाई अनेसासले ‘लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’बाट पुरस्कृत गरेको हो ।

शुक्रवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी अनेसासले सिटौलालाई पुरस्कार प्रदान गरेको हो । ‘लक्ष्मण सत्याल सर्वोत्कृष्ट गीति गजल पुरस्कार’बाट पुरस्कृत सिटौलालाई अनेसासले पुरस्कार स्वरूप ५ सय अमेरिकी डलर प्रदान गरेको छ ।

गएको १८ जुलाइमा अनेसासले विभिन्न विधाका सर्वोकृष्ट कृतिहरू छनौट गर्दै पुरस्कारको घोषणा गरेको थियो । विभिन्न विधामा ११ जना साहित्यकारलाई पुरस्कारको घोषणा गरेको थियो ।

अनेसासबाट पुरस्कृत सिटौलाको ‘धर्तीको ध्वनि’ गीति संग्रहमा २ सय ५० भन्दा बढी गीतहरू समावेश गरिएका छन् । यसभित्रका गीतहरू नेपालका ख्यातिपात्र गायक–गायिकाहरूले गाइसकेका छन् । उनको गीत तारादेवी, अन्जु पन्त, लाक्पा शेर्पालगायतले गाएका छन् भने गोपाल योञ्जनजस्ता दिग्गज व्यक्तिले समेत यसमा संगीत भरेका छन् ।

अनेसासबाट पुरस्कृत हुनेमा रोशन थापा नीरव (उपन्यास), डा. तुलसी आचार्य (उपन्यास), मोमिला जोशी (निबन्ध), डा. दुर्गाबहादुर घर्ती (संस्कृति), जगन्नाथ पौडेल (कविता संग्रह), कृसु क्षेत्री (कविता संग्रह), कृष्ण कुसुम (कथा संग्रह), अखण्ड भण्डारी (उपन्यास), विमला निरौला (बाल साहित्य) र शशिराम कार्की (लोककथा) रहेका छन् ।

Read more news from Sutra News

Explore by Source or Category