मुक्तक मञ्च मकवानपुरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा तिमिल्सिना
एन.पि.घायल,काठमाडौं। मुक्तकको उत्थान हाम्रो अभियान भन्ने मूल नारासहित स्थापना भएको नेपाली साहित्यिक विधा मुक्तकको अग्रणी संस्था मुक्तक मञ्चको मकवानपुर शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ । पोखरामा स्थापना भएर लामो समयदेखी नेपाली भाषा, कला र साहित्यको क्षेत्रमा उल्लेख्य भुमिका निर्वाह गरेको संस्थाको मकवानपुर शाखाले आफ्नो दोस्रो अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा सागर तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा भवानी तिमल्सिना, सचिवमा सुवास सजल, कोषाध्यक्षमा मिथिला अधिकारी चयन भएका छन्। त्यस्तै सहसचिवमा अजर फुयाँल र नवीन दर्लामी चयन भएका छन्।
सदस्यहरूमा कमल नेपाल, प्रविना प्रयासी, मन्दिरा देवकोटा, विविशा रुम्बा र भावना न्यौपाने निर्वाचित भएका छन्।
अधिवेशनपछि नव–निर्वाचित अध्यक्ष तिमल्सिनाले मुक्तक विधाको प्रवद्र्धन, स्रष्टाहरूको क्षमता अभिवृद्धि र साहित्यिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
नव–निर्वाचित टिमलाई साहित्यप्रेमी तथा स्रष्टाहरूले सफल कार्यकालको शुभकामना दिएका छन्। अधिवेशनमा सर्जकहरुले विविध साहित्यिक रचनाहरु वाचन गरेर कार्यक्रम लाई भव्य बनाएका थिए। शाखाले आगामी कार्यकालमा नियमित काव्य गोष्ठी, प्रशिक्षण तथा साहित्यिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।मुक्तक मञ्च केन्द्रिय समितिले विभिन्न शाखाहरुलाई अधिवेशनका लागि आह्वान गरेको छ ।