Sutra News
साथ खोज्दै आएका कुलमानलाई बालेनको ‘ग्रिन सिग्नल’, पूरा गर्लान् त शर्त ?
काठमाडौं । जेनजी आन्दोलनपछि फेरिएको राजनीतिक परिदृष्य र आगामी निर्वाचनलक्षित राजनीति देशको आगामी नेतृत्व लिने दौडमा देखिन्छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपश्चात गठित वर्तमान चुनावी सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन गर्दै छ ।
यसको तयारीस्वरुपमा आइतबार (मंसिर १४)सम्म दल दर्ताका लागि आयोगले समय दिएको थियो । सो क्रममा नयाँ २५ सहित १२० दलले आगामी निर्वाचनमा सहभागी हुन निवेदन दिएका थिए । त्यसमध्येको एक दल हो– उज्यालो नेपाल । यो वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षण र योजनाअनुसार दर्ता गरिएको पार्टी हो ।
आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएपछि राजनीतिक माहोल र उज्यालो नेपाल पार्टीलाई जनमत तान्न कुलमान सक्रिय भएका छन् । यही क्रममा शनिबार कुलमान काठमाडौं महानगरका मेयर बालेन शाहलाई भेट्न उनकै निवासमा पुगेका थिए ।
कुलमान र बालेनबिच देशको समग्र राजनीतिसँगै वैकल्पिक शक्तिको अवस्था र आगामी परिणामबारे छलफल भएको बताइएको छ ।
साथ र समर्थन खोज्दै मेयर बालेनकहाँ पुगेका कुलमानले यही विषय राखेका थिए । कुलमानको प्रस्ताव सुनेपछि मेयर बालेनले वैकल्पिक राजनीतिक शक्ति एकैस्थानमा आउनुपर्ने र एकभर आगामी निर्वाचनमा जानुपर्ने बताए । कुलमानलाई उनले उज्यालो नपाल र रास्वपा एकभर चुनावमा गए आफूले समर्थन गर्न सक्ने शर्त राखे ।
उज्यालो नेपाल र रास्वपा एकभर गए आफू र आफूपक्षधरले पार्टीमा आवद्ध नभइ बाहिरै बसेर सहयोग गर्न सक्ने जवाफ मेयर बालेनले कुलमानलाई दिए ।
आफ्नो समर्थन चाहिएमा कुलमानले रास्वपासँग मिलेर अघि बढ्नुपर्ने बालेनको शर्त देखिन्छ । यो शर्तलाई कुलमानले कसरी लिन्छन् आगामी दिनमा देखिनेछ ।
कुनै पनि पार्टीमा आवद्धता नदेखिएको र आफ्नो योजनाअनुरुप कुनै पनि पार्टी नखोलिएको देखिएको बालेनले आगामी निर्वाचनमा कसलाई समर्थन गर्छन् भन्ने चासो राजनीतिक वृत्तमा देखिन्छ ।
यही बेला आइतबार साँझपख सामाजिक सञ्जालमा बालेन र कुलमान भेट भएको तस्बिर भाइरल बनेको थियो । धेरैले धेरै किसिमका अड्कल काटेका थिए । तर, कुलमान आगामी निर्वाचनमा उज्यालो नेपाल पार्टीलाई साथ खोज्दै बालेनको निवासमा पुगेका थिए । त्यहीँ भेट भएको तस्बिर भोलिपल्ट आइतबार सार्वजनिक भएको थियो ।