npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

राजस्व संकलन २.४७ प्रतिशतले वृद्धि, उपभोगमा भएको सुधारले बढायो भ्याट र भन्सार महसुल

Masta KC 1 hour ago

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो संकलन पुस मसान्तसम्मको लक्ष्यको तुलनामा ८१.७५ प्रतिशत हो।

गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ संकलन भएको थियो। गत वर्षको तुलनामा समग्र राजस्व संकलन २.४७ प्रतिशतले बढेको हो।

यो वर्ष पुस मसान्तसम्म मूल्य अभिवृद्धि कर (भ्याट) १ खर्ब ६७ अर्ब ७१ करोड रुपैयाँ संकलन भएको छ। जुन गत वर्षको १ खर्ब ५४ अर्ब ८५ करोडको तुलनामा ८.३१ प्रतिशतले बढी हो।

आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल उपभोग बढेरै भ्याटको संकलन राम्रो भएको बताउँछन्।

उनले भने, ‘उपभोगमा आएको सुधारले भ्याट बढाएको देखियो। यसका साथै सरकारले बक्यौता उठाउन ल्याएको स्किमले पनि भ्याट बढाउन केही भूमिका खेलेको देखिन्छ।’

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुरानो बक्यौता रहेकाहरुले पुस मसान्तसम्म विवरण बुझाएमा ७५ प्रतिशतसम्म छुट दिने योजना ल्याएको थियो।

यस्तै चालु आर्थिक वर्षको पुषसम्म भन्सार तर्फको महसुल संकलन ८.०८ प्रतिशतले वृद्धि भई १ खर्ब १६ अर्ब ५ करोड पुगेको छ। गत वर्ष १ खर्ब ७ अर्ब ३७ करोड संकलन भएको थियो।

बजारमा भएको मागका कारण आयात बढेको र यसले भ्याट तथा भन्सार महसुलको संकलन बढाएको अर्थविद्हरूको बुझाइ छ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले भने, ‘बजारले वस्तुको सप्लाई तानेपछि त्यसको स्वत: प्रभाव भ्याट भन्सारलगायतका महसुलमा पर्छ। तथ्यांक हेर्दा बजारले राम्रो क्रियट गरेको देखियो।’

आयकर संकलनमा भने गत वर्षको तुलनामा गिरावट आएको छ। गत वर्ष १ खर्ब ४१ अर्ब ९३ करोड आयकर उठेकोमा यस वर्ष २.६६ प्रतिशत कम भएको छ। पुस ३० गतेसम्म १ खर्ब ३८ अर्ब १५ करोड आयकर संकलन भएको अर्थ मन्त्रालयको तथ्यांक छ।

ब्याजदरमा आएको गिरावट, सेयर बजार र घरजग्गा कारोबारमा देखिएको सुस्तताले आयकर संकलन भने लक्ष्यअनुसार हुन नसकेको ठूला करदाता कार्यालयका प्रमुख कर प्रशासन दिलिपकुमार गौतमले बताए।

उनले भने, ‘मुख्य कुरा ब्याजदरमा आएको गिरावटले नै त्यसमार्फत हुने आम्दानी घटाएर आयकर संकलनमा कमी आएको देखिन्छ।

अन्तःशुल्क संकलनमा सामान्य सुधार देखिएको छ। गत वर्ष ८३ अर्ब ३८ करोड संकलन भएकोमा यस वर्ष ९.४६ प्रतिशतले बढेर ९१ अर्ब २७ करोड पुगेको छ।

सरकारले पुस महिनासम्म ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो। लक्ष्यअनुसार उपलब्धि हासिल हुन नसके पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा संकलन रकममा वृद्धि देखिएको छ।

पुष महिनाका लागि तोकिएको १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँको लक्ष्यमा ८९.९६ प्रतिशत अर्थात् १ खर्ब ७१ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ। पुष ३० गते एकै दिन मात्र २० अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ५ खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्षको सोही अवधिमा संकलन करिब १४ अर्ब रुपैयाँले बढी हो।

त्यस्तै गत वर्ष पुस महिनामा १ खर्ब ६१ अर्ब ६२ करोड संकलन भएकोमा यो पुषमा १० अर्ब रुपैयाँले संकलन बढेको देखिन्छ। सरकारले चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको छ।

समग्र लक्ष्यअनुसार राजस्व संकलनका लागि भन्सार प्रशासनमा सुधार र आन्तरिक राजस्व परिचालनमा कडाइ गर्नुपर्ने अर्थविद्हरूको सुझाव छ।

The post राजस्व संकलन २.४७ प्रतिशतले वृद्धि, उपभोगमा भएको सुधारले बढायो भ्याट र भन्सार महसुल appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category