npl.977 Nepal News Stream

Saral patrika logo Saral patrika

कोशीमा ४३९ मतदानस्थल अतिसंवेदनशील, सुरक्षा व्यवस्था कडा

Saral Patrika 11 hours ago

विराटनगर। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशमा ४ सय ३९ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेर कडा सुरक्षा व्यवस्था मिलाइएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेशभर रहेका १ हजार ९ सय ७ मतदानस्थल र ४ हजार २ सय ७० मतदान केन्द्रमध्ये ४ सय ३९ मतदानस्थल र १ हजार १६ मतदान केन्द्र अतिसंवेदनशील वर्गमा परेका हुन्।

त्यसैगरी ८ सय २१ मतदानस्थल र १ हजार ८ सय ६९ मतदान केन्द्रलाई संवेदनशील तथा ६ सय ४७ मतदानस्थल र १ हजार ३ सय ८५ मतदान केन्द्रलाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ।

सुरक्षा विश्लेषणका आधारमा विगतका घटनाको समीक्षा, मतदाताको संख्या, राजनीतिक गतिविधि, सीमा क्षेत्रको अवस्था, भौगोलिक विकटता र सम्भावित जोखिमलाई ध्यानमा राखेर यो वर्गीकरण गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले बताए।

उनका अनुसार सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेका छन्। निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन कडा सुरक्षा व्यवस्था मिलाइएको र मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने वातावरण सुनिश्चित गरिएको उनले जानकारी दिए। मनोनयनका दिन केही स्थानमा सामान्य घम्साघम्सीका घटना बाहेक हालसम्म कुनै गम्भीर अप्रिय घटना नभएको पनि उनले स्पष्ट पारे।

निर्वाचन सुरक्षाका लागि त्रिस्तरीय सुरक्षा घेरा बनाइएको छ। पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी बल एवं तेस्रोमा नेपाली सेना परिचालन गरिएको छ।

संवेदनशीलताको स्तरअनुसार हतियारधारी र सादा पोसाकका सुरक्षाकर्मी परिचालन हुनुका साथै उच्च निगरानी, नियमित गस्ती, मोबाइल टोली र रिजर्भ फोर्सलाई तयारी अवस्थामा राखिएको छ। प्रविधिको प्रयोगमार्फत सुरक्षा सतर्कता थप बढाइएको घिमिरेले उल्लेख गरे।

प्रदेशका १४ जिल्ला र २८ निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमनका लागि नेपाल प्रहरीका तीन जना एसएसपी परिचालन गरिएको छ। मोरङ र सुनसरीमा ज्ञानेन्द्र फुयाँल, झापा र इलाममा गोविन्द अधिकारी तथा उदयपुर र खोटाङमा योगेन्द्रसिंह थापा खटिएका छन्। डीएसपीको दरबन्दी भएका जिल्लामा निर्वाचन अवधिभरका लागि एसपीलाई जिम्मेवारी दिइएको छ।

कोशी प्रदेशमा कुल ३५ लाख ७४ हजार ३ सय १० मतदाता रहेका छन्। तीमध्ये १८ लाख २८ हजार २ सय १३ पुरुष, १७ लाख ४६ हजार ७३ महिला र २४ जना अन्य मतदाता छन्।

कुल ४ सय ९५ उम्मेदवार प्रतिस्पर्धामा रहेको यस निर्वाचनलाई लक्षित गर्दै ‘मास्टर प्लान’ अनुसार मतदानअघि, मतदानका दिन र मतगणनासम्म विशेष सुरक्षा व्यवस्था कायम रहने प्रहरीले जनाएको छ।

Read more news from Saral patrika

Explore by Source or Category