npl.977 Nepal News Stream

NepalWatch logo NepalWatch

निर्वाचन आचारसंहिता उल्लङ्घन : ९५ जनासँग स्पष्टीकरण, ८ जनामाथि कारबाही

Nepal Watch 1 day ago

निर्वाचन आयोग ले निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा सक्रियता बढाएको जनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म दर्ता भएका ४५४ उजुरीमध्ये ९५ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ।

आयोगका अनुसार राजनीतिक दल तथा उम्मेदवारलाई सोधिएका स्पष्टीकरणमध्ये ६२ वटाको जवाफ प्राप्त भएको छ। हालसम्म ८९ जनालाई स्पष्टीकरण र ६ जनालाई पुनः स्पष्टीकरण सोधिएको छ। पुनः स्पष्टीकरण सोधिएकामध्ये पाँच जनाको जवाफ आएको छ भने तीन जनालाई ताकेता पत्र पठाइएकोमा एक जनाले मात्रै जवाफ दिएका छन्।

स्पष्टीकरणपछि चित्तबुझ्दो उत्तर नआएपछि आयोगले आठ जनामाथि कारबाहीसमेत गरिसकेको सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिइन्। प्राप्त ६२ वटा जवाफको थप अध्ययन भइरहेको आयोगले जनाएको छ।

सञ्चारमाध्यममाथि पनि निगरानी

दर्ता भएका सञ्चारमाध्यम र त्यहाँ आबद्ध पत्रकारविरुद्धका उजुरीहरू प्रेस काउन्सिल नेपाल मार्फत कारबाहीका लागि पठाइएको छ। निर्वाचन विश्लेषणका नाममा मत सर्वेक्षण गरी दल वा उम्मेदवार विशेष निर्वाचित हुने दाबी गर्दै सामग्री प्रकाशन गरेको भन्दै सेतोपाटी अनलाइनलाई समेत काउन्सिलमार्फत स्पष्टीकरण सोधिएको जनाइएको छ।

जिल्लास्तरमा १,०७६ उजुरी

जिल्लास्तरमा पनि आचारसंहिता उल्लङ्घनविरुद्ध उजुरी प्राप्त भई आवश्यक कारबाही अघि बढाइएको आयोगले जनाएको छ। हालसम्म देशभर १,०७६ उजुरी दर्ता भएकामध्ये १,०६१ वटाको फर्छ्योट गरिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ३२ बमोजिम ७७ वटै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेकका विषयमा र प्रमुख कोष नियन्त्रकलाई आर्थिक विषयमा अनुगमन अधिकृत तोकिएको छ। केन्द्रीय तथा जिल्ला आचारसंहिता अनुगमन समिति र सम्बन्धित निर्वाचन कार्यालय सक्रिय रहेको कानुन अधिकृत मोहनराज जोशीले बताए।

राजनीतिक दल तथा उम्मेदवारबाट आचारसंहिता उल्लङ्घन भएको भन्दै सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेश का जिल्लाबाट प्राप्त भएको आयोगले जनाएको छ।

आयोगले छोटो समयमै सरोकारवालालाई आचारसंहिताबारे जानकारी गराउने र पालना गर्ने प्रतिबद्धता गराउने कार्य प्रभावकारी रूपमा अघि बढिरहेको उल्लेख गर्दै उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न जाँचबुझ तथा कारबाही प्रक्रिया निरन्तर जारी रहने जनाएको छ।

Read more news from NepalWatch

Explore by Source or Category