पुछारको वुल्भ्ससँग एस्टन भिल्लाको हार
एजेन्सी – प्रिमियर लिगमा एस्टन भिल्लाले मौका गुमाएको छ। तालिकाको पुछारको वुल्भ्ससँग २-० ले हारेको भिल्लाको च्याम्पियन्स लिगमा पुग्ने आशा कमजोर बनेको छ।
वुल्भ्सका जोआओ गोमेस र रोड्रिगो गोमेसले गोल गरे। यो जितसँगै वुल्भ्स १३ अंकमा पुगेको छ। यसले टोलीलाई इतिहासकै सबैभन्दा कम अंक बनाउने लज्जास्पद कीर्तिमानबाट जोगाएको छ।
वल्भ्स रेलिगेसनबाट बच्न गाह्रो देखिन्छ, तर कम्तीमा दोस्रो जित भने हात पारेको छ। उता भिल्ला तेस्रो स्थानमै रहे पनि चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले अघि बढ्ने अवसर गुमायो।
भिल्लाले पछिल्ला ७ खेलमध्ये २ मात्र जितेको छ। यसअघि एफए कपबाट पनि बाहिरिएको थियो।
पहिलो हाफमा भिल्लाले केही राम्रो अवसर पाए पनि गोल गर्न सकेन। ६१औं मिनेटमा जोआओ गोमेसले गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाए। खेल सकिन लाग्दा रोड्रिगो गोमेसले अर्को गोल थपे।


The post पुछारको वुल्भ्ससँग एस्टन भिल्लाको हार first appeared on हाम्रो खेलकुद.