राजा वीरेन्द्रका प्रिय पत्रकार
“रक्सी खान्थेँ । अहिलेसम्म खाँदैछु । राजा वीरेन्द्रसंग पनि रक्सी खाने साैभाग्य मिल्यो , धेरै पटक । ”
राजा वीरेन्द्रभन्दा तीनबर्ष मात्रै कान्छा पुराना लेखक र पत्रकार खिलध्वज थापाको स्मृति – डायरीमा अनेक सम्झना छन्।
स्वदेश र विदेशमा राजा वीरेन्द्रको साथमा राष्ट्रिय समाचार समिति ( रासस) प्रतिनिधि बनेर जाँदा राजासग बसेर ब्रेकफास्ट , लन्च र डिनरमा सहभागी भएको र सीमित मानिसका माझमा परिवारको सदस्य जस्तो भएर खुला हृदयले बात मारेका घटना सिनेमाका रिल झैं स्मृतिमा आइरहन्छन् ।
ललितपुर भैँसेपाटीमा रहेको उहाँको निवासमा मैले लामो कुरा गरेँ।
अतीत सम्झँदै पुलकित हुनुभयो , खिलध्वज थापा।
राससको प्रधान सम्पादक पदबाट फुर्सद पाउनु भएको धेरै भयो ।
सन्चार मन्त्रालयले रेखदेख गर्ने रासस , रेडियो नेपाल , गोरखापत्र , द राइजिङ नेपाल र नेपाल टेलिभिजनमध्ये राससको ” क्यारेक्टर ” फरक छ।
जिल्ला जिल्लामा प्रतिनिधि राखेर , कतिपय जिल्लामा छुट्टै भवन बनाएर समृद्ध हुँदै थियो , त्यो संस्था ।
पछिल्ला बर्षहरुमा जुन दलका मानिस सत्तामा गए, ती संस्था उनैका खुवाबिर्ता भए।
पत्रकारिता नजाने पनि नेता रिझाउन जानेको छ भने ऊ हर्ताकर्ता भयो ।
खिलध्वज थापाले मलाई सोध्नुभयो , …. ” गोरखापत्रमा प्रधान सम्पादक हुँदा तपाईं पनि धेरैसंग भिडनु भयो , होइन त ?”
मेरो अनुभव सुनाएँ।
राष्ट्रबैंकले बैंकका करोडौं रुपियाँ ऋण नतिर्नेहरुको नाम पठायो । ती डिफल्डर शक्तिशाली रहेछन्। विनोद चाैधरीलगायतका धेरै ” धनबहादुर ” राजाका नातेदार , सचिव र उच्चपदस्थका प्रिय बनेर ” तिर्नु नपर्ने जस्तो ” करोडौं रुपैयाँ बैंकबाट ऋण लिएर धनी भएको देखियो ।
उनीहरूको बारेमा निजी क्षेत्रका अखवार पनि चुपचाप थिए।
गोरखापत्रले ” क्रिटिकल ” वा आक्रामक बनेर लेख्ने चलन थिएन।
यस्तो अवस्थामा मैले साहस गरेको थिएँ। जागिरको माया गरिनँ।
राजाका सचिवहरुले फोन गरेर थर्काउने प्रयास गर्थे ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो । राजाका सचिव आफूलाई उपराजा ( deputy king) ठान्थे , उन्मत्त थिए।
त्यत्तिकै हान्ने राँगो जस्तो झम्टिने गर्थे ।
मैले जवाफ दिएँ, ” नेपाल राष्ट्रबैंकबाट मेरा सम्वाददाताले समाचार ल्याए। तसर्थ , यसबारे सबै कुरा राष्ट्रबैकलाई थाहा छ। अर्थ मन्त्रालय जान्दछ।
समाचार छाप्ने दोषी हुन्छ कि करोडौं ऋण चुक्ता नगर्ने दोपी? ”
एकजना सचिवले भन्नुभयो , ” समाचारमा विनोद सिंहको नाम पनि छ । उहाँ को हो , थाहा छ? ”
” म देहाती मान्छे , काठमाडौंका ठूलाठूला मान्छे चिन्दिनँ हजुर ! यति मात्रै बुझ्छु, ऋण नतिर्नेलाई ऋणी भन्छन् ।”
पछि थाहा भो, राजाका भान्जा रहेछन् विनोदविक्रम सिंह ।
ऋण नतिर्नेलाई ऋणी भन्छन् । त्यसकारण , सबै ऋणीको नाम छापेको हुँ। गैरकानुनी ठहरिए दण्ड भोग्न तयार छु। ”
लोकसेवा आयोगको अनुहार पनि नदेखेका एकजना हुल्याहा टाइपका कर्मचारी संचार सचिव र मुख्य सचिव भए। उनका पिता राजसभाका सभापति भएको बेला राजा वीरेन्द्रको हुकुम प्रमांगीबाट राजसभाको उपसचिव सरहको जागिरे भएका थिए।
कर्मचारी वृत्तमा उनको दादागिरी चल्दै थियो ।मान्छे अत्यन्तै रफ ।
संचार सचिव भएको बेला मलाई मन्त्रालयमा बोलाएर हप्काए।
” भ्रष्टाचारको कुनै खबर नछाप्नू ! बुझ्नुभयो? ”
मैले सोधेँ , ” माघ १९ को कदम उठाएपछि राजाको घोषणा छ, भ्रष्टाचार मास्ने ।
तपाईं भ्रष्टाचारको समाचार नै नछाप्नू भन्नुहुन्छ , कुरा बुझिनँ। महाराजाधिराज सरकारको दर्शन गरेर म यो सबै बिन्ति गर्नेछु।राजाबाट भ्रष्टाचारको खबर नछाप्ने हुकुम भएछ भने त्यसपछि जागिरबाट राजीनामा दिन्छु ! ”
उनले मलाई लुरुक्क पर्छ भन्ने ठानेका रहेछन् तर बेइमान र भ्रष्ट मात्रै डराउँछ ।चाकडी गर्छ । लुरुक्क परेर पाउमा पर्छ।
मैले कसैले आपत्ति जनाउन सक्ने काम गरेकै थिइनँ, गरिनँ। मेरो उत्तर सुनेर उनी जुरुक्क उठे । हात मिलाउँदै भने , ” हामी मिलेर काम गर्नुपर्छ ! ”
भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डामेका ती मानिसलाई अख्तियारकै प्रमुख बनाउने काम भयो ।त्यो गलत थियो ।
यस्ता सम्झना र घटना धेरै छन्।
राजादेखि रङ्कसम्म सम्बन्ध भएका तर इमान नत्यागेका साहसी मानिस अब थोरै मात्र छन्।उनीहरूलाई योग्य मान्दैनन् , अयोग्यहरु।
योग्यता चिन्ने योग्यता पनि त हुनुपर्छ नि!
राजदरबारको छत्रछायामा हुर्केका कतिपय अवसरवादी र भ्रष्टले नगरबधुले ग्राहक बदलेझै सिद्धान्त र नायक बदले।
खिलध्वज थापा २०२४ सालमा बागलुङको सुदूर गाउँबाट कलेज पढ्न काठमाडौ आउनु भयो । पत्रकारितामा लामो अनुभव हासिल गर्नुभयो । साथीहरू भन्छन् , ” खिलध्वज सोझो मगर हो। नक्कली कुरा गर्दैन । ऊ प्रष्ट बोल्छ। चाकडी चुक्ली जाँन्दैन । ”
साथीहरू मलाई पनि ” लिम्बू जस्तो बाहुन ” भन्थे कलेजमा । बेकाइदा नगर्ने , नसहने। त्यसैले ” एक्लो बृहस्पति ” जस्तो भइयो ।
न गुट छ, न दल।
छलकपट नजान्ने , कसैलाई अन्याय नगर्ने र अन्याय नसहने ! हेप्न खोज्ने तीन चारजनालाई कुटेको पनि छु।
राजा वीरेन्द्रको दर्शन पाउँदा हुकुम भएको थियो , ” ” तिमी सिधा कुरा गर्ने स्ट्रेट फरवार्ड रहेछाै ! राम्रो लाग्यो मलाई । ”
खिलध्वज थापासँग पनि राजा वीरेन्द्रका बारेमा अनेकौं रोचक सम्झना छन्। तीमध्ये केही उहाँको ” एक पत्रकारको बकपत्र” ग्रन्थमा पनि छन्।
“साँझपख रक्सी खाँदा राजाबाट हुकुम हुन्थ्यो , खिलध्वज , वान मोर प्याक ….” सम्झिरहनु हुन्छ उहाँ ।
राजाको स्वर्गवास भएपछि कैयौं दिन खिलध्वज उदास हुनुभयो । रुनुभयो।
आज पनि वीरेन्द्र सरकार सम्झिँदा उहाँका नयन सजल हुन्छन् ।
धेरै छन् सम्झनाहरु ।।एउटा जीवनमा भनेर नसकिने रहेछ , जीवनगाथा ।
भन्छन् नि , one life is not enough …”
हो कि क्या हो ! !!! (पत्रकार युवराज गौतमको वालबाट)