npl.977 Nepal News Stream

Taksar News logo Taksar News

नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा कित्ताकाट सुरु

टक्सार न्युज 2 hours ago

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको चुनाव नजिकिदै गर्दा यसक्षेत्रका नेताहरू आआफ्नो पक्षमा खुल्न थालेका छन् ।

महासङ्घमा दुई समूह देखिएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने यो अन्तिम पटक हो ।

आगामी चैतको अन्तिम हप्ता हुने साधारण सभाबाट वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ अध्यक्ष बन्नेछन् । चुनावी कित्ताकाट हुँदा वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठपक्षमा उद्योगी व्यवसायी विभाजित भएका छन् ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकाल, वस्तुगत उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा कल्पना गैरे र उमेश डाल्मिया रहेको समूहलाई वर्तमान अध्यक्ष चन्द्र ढकालले समर्थन गरेको देखिएको छ ।

हेमराज पक्षको उम्मेदवारी घोषणा र होली कार्यक्रममा अध्यक्ष ढकालको उपस्थिति देखियो । अध्यक्ष ढकालले सर्वसम्मतिमा जोड दिए पनि अञ्जन श्रेष्ठ समूहले गरेको कार्यक्रममा अध्यक्ष ढकाल उपस्थित भएनन् ।

वस्तुगत उपाध्यक्षका उम्मेदवार शिवप्रसाद घिमिरेले आइतबार बेलुकी गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको उपस्थितिमात्रै देखिएन पोष्टरमा उनको फोटो समेत राखिएको थियो ।

भावी अध्यक्ष श्रेष्ठले वस्तुगत उम्मेदवार शिवप्रसाद घिमिरे,एसोसिएट्स उपाध्यक्ष प्रबलजंग पाण्डे र जिल्लानगर उपाध्यक्ष कृष्णप्रसाद शर्मा र दिलकुमार श्रेष्ठ रहेको समूहलाई खुलेर साथ दिन थालेका छन् ।

वर्तमान अध्यक्ष र भावी अध्यक्षले समन्वयकारी भूमिका खेल्नुपर्ने आवाज उठिरहेका बेला दुबैपक्षको नेतृत्वमा कित्ताकाट सुरु भएको देखिएको छ ।

हेमराज ढकाल पक्षको उम्मेदवारी घोषणा र होली कार्यक्रममा उपस्थित भएका वर्तमान अध्यक्ष ढकाल शिवप्रसाद घिमिरे पक्षले गरेको कार्यक्रममा सहभागि भएनन् । ढकालले आफू म्याग्दीमा भएको जानकारी पठाएका थिए ।

हेमराज समूहले साेमबार हाेलीकाे दिनमा गरेकाे कार्यक्रममा भने ढकाल उपस्थित थिए ।

अञ्जन समूहका एक उम्मेदवारले भने,“उहाँ(वर्तमान अध्यक्ष)ले सर्वसम्मतिमै महासङ्घको नेतृत्व चयन गर्नुपर्छ त भन्नुभएको छ तर एउटा समूहको कार्यक्रममा बाक्लो उपस्थिति छ, हाम्रो कार्यक्रममा अहिलेसम्म देखिनुभएको छैन । होली कार्यक्रममा पनि आफू म्याग्दीमा रहेको खबर पठाउनुभएको थियो । संयोग पनि हुनसक्छ तर हाम्रो कार्यक्रममा निरन्तर अनुपस्थित हुँदा मनोवैज्ञानिक विभाजनजस्तो भइसक्यो ।”

प्रचार समेत वर्तमान अध्यक्ष र आगामी अध्यक्षको पक्षधर भनेर हुन थालेको छ ।

Read more news from Taksar News

Explore by Source or Category