npl.977 Nepal News Stream

RONB post logo RONB post

६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

RONB Post 7 hours ago

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी  प्रतिबद्धतामा उल्लेखनीय वृद्धि भएको छ।

उद्योग विभागका अनुसार साउनदेखि पुसमसान्तसम्म ४७५ वटा उद्योगमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा ३५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। यस आधारमा चालू आवमा उद्योग संख्या र लगानी दुवैमा वृद्धि देखिएको छ।

चालू आवको ६ महिनामा ७ ठूला, ८ मध्यम र ४६० साना उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यी उद्योगबाट करिब २० हजार १२२ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ।

महिनागत तथ्यांकअनुसार भदौ महिनामा सबैभन्दा बढी ३३ अर्ब ९ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। साउनमा ५९ करोड, असोजमा २ अर्ब ४ करोड, कात्तिकमा १ अर्ब ५४ करोड र मङ्सिरमा १ अर्ब ९१ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

सूचना प्रविधि क्षेत्रमा उद्योग संख्या बढी

क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधिमूलक क्षेत्रमा सबैभन्दा धेरै अर्थात् २५७ उद्योगमा लगानी प्रतिबद्धता आएको छ। तर रकमका आधारमा कृषिमूलक क्षेत्र अग्रस्थानमा रहेको छ, जहाँ १३ उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता भएको छ।

यसैगरी पर्यटनमूलक क्षेत्रमा १० अर्ब ५४ करोड, सेवामूलक क्षेत्रमा ३ अर्ब ४६ करोड र उत्पादनमूलक क्षेत्रमा २ अर्ब ३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार पछिल्लो समय नेपालमा व्यवसायिक उद्देश्यले आउने विदेशीको संख्या पनि बढ्दो क्रममा छ। चालू आवको ६ महिनामा १ हजार २२९ विदेशी लगानीकर्ताले बिजनेस भिसाका लागि सिफारिस मागेका छन्।

The post ६ महिनामै ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता appeared first on RONB post.

Read more news from RONB post

Explore by Source or Category