फागुन २१ को निर्वाचनमा भाग लिने दलको संख्या १०८
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् ।
बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् ।
आयोगका अनुसार पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।