npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

२८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा काठमाडौँमा स्मृति सभा सम्पन्न

पालिका ब्यूरो 5 hours ago

काठमाडौँ, – ‘सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २८ औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।

१९९० साल माघ २ गते तथा त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षतिबाट पाठ सिक्दै अबका पुस्ताले यस्ता विपत्ति व्यहोर्नु नपरोस् भन्ने उद्देश्यका साथ यो दिवस हरेक वर्ष मनाइँदै आएको छ । विगतका गल्ती नदोहो-याउँदै सुरक्षित र उत्थानशील बस्ती निर्माणतर्फ सामूहिक प्रतिबद्धता जनाउनु नै भूकम्प सुरक्षा दिवसको मुख्य उद्देश्य हो ।

स्मृति सभालाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति न्यूनीकरणका लागि पूर्वतयारीको संयन्त्र थप सबल बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले अन्तरसरकारी समन्वय बढाउँदै स्थानीय तहका प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।
“नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकहरूको कार्यान्वयनमा क्षमता बढाउनुपर्छ,” गृहमन्त्री अर्यालले भने ।
कार्यक्रमकी अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद्का बेला समुदाय नै पहिलो उद्धारकर्ता हुने उल्लेख गर्दै समुदायको क्षमतालाई पूर्वतयारी, खोज तथा उद्धार, पुनःस्थापना र पुनर्लाभको मुख्य औजार बनाउनुपर्ने बताईन् ।
“महानगरपालिकालाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकारी समन्वय, ज्ञान र सिपको आदान–प्रदान तथा एकीकृत योजना अपरिहार्य छ,” उनले भनिन् ।

महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भूकम्पबाट हुने क्षति सम्झनामा सीमित नभई क्षति हुन नदिने प्रणाली विकासमा केन्द्रित हुनुपर्ने समय आएको बताए ।
“हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन थेगेका छन्, त्यसैले प्रतिरोधी संरचना निर्माणमा रैथाने सिपको प्रवद्र्धन गरौँ,” उनको भनाई थियो ।

सभामा १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको भूकम्पसहित २०४५ सालको उदयपुर भूकम्प, २०७२ सालको गोरखा भूकम्प, २०७९ सालको डोटी भूकम्प तथा २०८० सालको जाजरकोट भूकम्पका बेला भोगिएका क्षति र त्यसबाट सिकाइका विषयमा स्मरण गरियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि, विभागीय प्रमुख तथा विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसै अवसरमा आगलागी, सडक दुर्घटना तथा विपद्जन्य जोखिममा उल्लेखनीय कार्य गर्ने सुरक्षाकर्मीलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । सम्मानित हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, नगर प्रहरी जवान बिरेन्द्र शाही, पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ र सशस्त्र प्रहरी जवान जसबिर शाह तेली हुन् र

यस वर्ष काठमाडौँ महानगरपालिकाले दिउँसो १ बजे खुलामञ्चमा मूल समारोह आयोजना गर्दै विपद् पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि र सेवाको प्रदर्शन गर्ने जनाएको छ ।

विश्व मानचित्रमा भूकम्पजन्य विपद्को जोखिमका दृष्टिले नेपाल ११ औँ स्थानमा रहेको छ ।

Read more news from PalikaNews

Explore by Source or Category