npl.977 Nepal News Stream

PalikaNews logo PalikaNews

साँगा–धुलिखेल सडक विस्तार सुस्त, ४० प्रतिशत काम अझै अधुरो

पालिका ब्यूरो 1 week ago

काठमाडौं – अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति कार्यअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडक विस्तार सुस्त गतिमा अघि बढेको छ । सम्झौताअनुसार काम सक्न तीन हप्ता मात्र बाँकी रहँदा पनि करिब ४० प्रतिशत काम अधुरो रहेको छ ।

२०७९ मङ्सिर २७ गते तीन वर्षभित्र काम सक्नेगरी लामा कन्स्ट्रक्सन कम्पनीले आठ किलोमिटर सडक विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का लिएको थियो । तर करिब तीन वर्षमा ६० प्रतिशत मात्र काम भएको परियोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।

धुलिखेल क्षेत्रमा करिब एक किलोमिटर सडक कालोपत्र भइसकेको छ भने बनेपा–जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटीसहितका क्षेत्रमा कटिङ, ग्राभेलदेखि कालोपत्र तयारीसम्मका काम जारी छन् । बनेपाको पुलबजार–जनागाल क्षेत्रमा दायाँतर्फ ८०० मिटर सडक कालोपत्र सम्पन्न भएको छ ।

यद्यपि बनेपा–पुलबजार बीचको करिब २०० मिटर क्षेत्रमा सेन्टर लाइन विवादका कारण झण्डै १० महिनादेखि काम अवरुद्ध छ । धेरै प्रयास गर्दा पनि अवरोध नहटेकाले विवादित भाग छाडेर अन्य क्षेत्रमा कामलाई तीव्रता दिइएको आयोजना पक्षले जनाएको छ ।

सूर्यविनायक–धुलिखेल सडक विस्तारको समग्र प्रगति करिब ५० प्रतिशत रहेको छ । पहिलो खण्ड साँगा–धुलिखेलमा ६० प्रतिशत र दोस्रो खण्ड सूर्यविनायक–साँगामा ४२ प्रतिशत काम सकिएको आयोजन प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

सूर्यविनायक–साँगा ७.५ किलोमिटर सडक विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का दिइएको थियो । दोस्रो खण्डको ठेक्का अवधि पुस १८ गते सकिँदैछ। दुवै खण्डको कार्य म्याद थपेर आगामी असार मसान्तसम्म सक्नेबारे निर्माण व्यवसायीसँग छलफल भइरहेको प्रमुख महतोले बताए ।

Read more news from PalikaNews

Explore by Source or Category