RONB post
माघका लागि केही वाणिज्य बैंकहरुले घटाए ब्याजदर
काठमाडौं । वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसको तुलनामा माघ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ ।
बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ४.६८ प्रतिशत विन्दुमा झरेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ११ बैंकले माघ महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। ब्याजदर घटाउने बैंकहरूमा हिमालयन, सिद्धार्थ, सानिमा, माछापुच्छ्रे, लक्ष्मी सनराइज, कुमारी, एभरेष्ट, सिटिजन्स, कृषि विकास, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन्।
घटाइएको ब्याजदरअनुसार कुमारी बैंकले ४.२३ प्रतिशत, एभरेष्ट र नेपाल एसबिआई बैंकले ४.४० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले ४.३६ प्रतिशत, सिटिजन्स र लक्ष्मी सनराइजले ४.५० प्रतिशत तथा सिद्धार्थ बैंकले ४.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्।
यता, केही बैंकहरूले भने व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर यथावत् राखेका छन्। नेपाल बैंक, प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनआईसी एसिया, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले पुस महिनामा लागू गरेको ब्याजदरलाई माघमा पनि निरन्तरता दिएका हुन्।
पुस महिनामा नेपाल बैंकले ५.१० प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत तथा नेपाल इन्भेस्टमेन्ट मेगा, एनआईसी एसिया, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकले ५.० प्रतिशत ब्याजदर प्रदान गरेका थिए।
त्यस्तै प्राइम बैंकले भने माघमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएर ४.४० प्रतिशत कायम गरेको छ। पुसमा बैंकले ४.२५ प्रतिशत ब्याज दिएको थियो।
The post माघका लागि केही वाणिज्य बैंकहरुले घटाए ब्याजदर appeared first on RONB post.