आज दुर्लभ खण्डग्रास चन्द्र ग्रहण, नेपालबाट १ घण्टा देखिने
काठमाडौँ । आज मंगलबार साँझ नेपालसहित विश्वका विभिन्न भागबाट खण्डग्रास चन्द्र ग्रहण अवलोकन गर्न सकिने भएको छ । खगोलविद्हरूका अनुसार आज साँझ चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनेछ, जसलाई एक दुर्लभ खगोलीय घटना मानिएको छ ।
वरिष्ठ खगोलविद् जयन्त आचार्यले दिएको जानकारी अनुसार काठमाडौँमा साँझ ६ः०४ बजे चन्द्रमा उदाउनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिनेछ ।
यो ग्रहण नेपालका विभिन्न स्थानबाट करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिने खगोलविद्हरूको भनाइ छ ।
आजको यो चन्द्र ग्रहण विशेष हुनुको अर्को कारण यो फागु पूर्णिमा (होली) को दिनमा परेको छ । करिब १०० वर्षपछि होली र चन्द्र ग्रहण एकैदिन परेकाले यसलाई ज्योतिषीय र खगोलीय दुवै दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि मंगलबार साँझ चन्द्रमा उदाउँदा ग्रहण देखिने पुष्टि गरेको छ ।
चन्द्र ग्रहण अवलोकनका लागि कुनै विशेष सुरक्षात्मक चस्मा वा उपकरणको आवश्यकता पर्दैन ।
सूर्य ग्रहणले जस्तो आँखामा नकारात्मक असर नपार्ने भएकाले खुला ठाउँबाट नाङ्गो आँखाले सजिलै ग्रहण हेर्न सकिने खगोलविद् सुरेश भट्टराईले बताए ।