पहिले हिरासतबाट भागे, त्यसपछि स्वयम्भु वृत्तकै पेस्तोल लुटे
काठमाडौँ। २४ भदौको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटेको पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १४ घर भई वडा नम्बर १८ भुरुङखेल बस्ने २८ वर्षीय रसिल जोशी, दार्चुला दुहुँ गाउँपालिका ४ घर भई अहिले काठमाडौं ११‚ सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुँवर र काठमाडौं १३ बाफल बस्ने ३१ वर्षीय विराटप्रसाद जोशी रहेका छन्।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। उनीहरूको साथबाट प्रहरीबाट लुटेको नेपाल पुलिस लेखिएको टाइप-५४ पेस्तोल बरामद भएको आचार्यले बताए।
आचार्यका अनुसार पक्राउ परेकामध्ये रसिल जोशी प्रहरी वृत्त स्वयम्भुको हिरासतबाट २४ भदौमै फरार भएका थिए। फरार भएपछि उनी सोही वृत्तमा तोडफोड,खआगजनी र लुटपाटमा सक्रिय भए। बरामद पेस्तोल त्यही वृत्तको रहेको आचार्यले बताए। जोशी २६ साउनमा लागुऔषध मुद्दामा पक्राउ परी वृत्तको हिरासतमा थिए। तीनै जनालाई थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।