PalikaNews
काठमाडौँ महानगरको पञ्चकुमारी मार्गमा ड्राइराइजर प्रणालीको सफल परीक्षण
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभागले वडा नम्बर ३० अन्तर्गत पर्ने पञ्चकुमारी मार्ग जनगोरेटोमा जडान गरिएको भूमिगत ड्राइराइजर प्रणालीको सफल परीक्षण सम्पन्न गरेको छ। परीक्षणका लागि काठमाडौँ बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक तथा महानगर प्रहरीको टोली खटिएको थियो ।
परीक्षणमा ३ हजार र ३ हजार ५ सय लिटर पानी क्षमताका दुई दमकल प्रयोग गरिएका थिए। परीक्षणको अवलोकनमा स्थानीयबासी, जनप्रतिनिधि तथा महानगरका अधिकारीहरू सहभागी थिए।
१४ स्थानमा ड्राइराइजर स्थापना
महानगरले केन्द्रिय बजेटबाट सञ्चालन गरेको ड्राइराइजर विस्तार योजनाअन्तर्गत वडा नम्बर २, ३, १४, १६, १९, २६ र ३० का गल्लीमा गरी १४ स्थानमा ड्राइराइजर जडान गरिसकिएको छ।
करिब १ करोड १७ लाख २ हजार ४५० रुपैयाँ लागतमा २ हजार ८९६ मिटर लामो भूमिगत पाइपलाइन बिछ्याइएको महानगरले जनाएको छ।
त्यसमध्ये अधिकतम लम्बाइ ५६० मिटर र न्यूनतम २५ मिटर रहेको छ। वडा नं. ३० बाट परीक्षण आजदेखि सुरु गरिएको हो।
केही वडाले आफ्नो वार्षिक बजेटबाट पनि ड्राइराइजर विस्तार गरेका छन् ।
साँघुरा गल्लीमा दमकल नपुग्ने जोखिमलाई ध्यानमा राखी स्थापना
ड्राइराइजर प्रणाली विशेषगरी दमकल पुग्न नसक्ने साँघुरा गल्लीहरूमा सम्भावित आगलागी नियन्त्रणका लागि जडान गरिएको भूमिगत पानी आपूर्तिको प्रणाली हो।
दुबैछेउ इनलेट भल्भ राखिन्छ, जहाँ दमकलले पानी पठाउँछ । प्रत्येक ४५–७५ मिटरमा आउटलेट राखिएको हुन्छ, जहाँबाट पानी निकालेर आगो निभाउन सकिन्छ ।
आउटलेटमा डेलिभरी होज जोडेर आगो नियन्त्रण गरिन्छ। यो प्रणाली आगलागीका बेला मात्र सक्रिय हुन्छ। नियमित पानी बग्ने प्रणालीलाई ‘वेटराइजर’ भनिन्छ।
दमकलबाट ८ बारको प्रेसरमा पठाइएको पानी ७ तले भवनसम्म आगो निभाउन आवश्यक प्रेसरमा पुग्न सक्ने व्यवस्था गरिएको छ।