npl.977 Nepal News Stream

नेपाल न्युज logo नेपाल न्युज

टोखाबाट यस वर्ष पाँच करोडको चाकु बिक्यो

नेपालन्युज 12 hours ago

काठमाडौँ। टोखाबाट यस वर्ष पाँच करोड रुपैयाँभन्दा बढीको चाकु बिक्री भएको छ। माघेसङ्क्रान्तिको पूर्वसन्ध्यामा टोखाका चाकु व्यवसायीलाई चाकु बेच्न भ्याइनभ्याइ छ।

टोखाका हाल १८ उद्योगले चाकु‚ लड्डुलगायत उत्पादन गर्दै आएका छन्। १८ उद्योगमध्ये १० उद्योगले चाकु उत्पादन र बाँकी आठ उद्योगले तिलको लड्डु‚ भूजाको लड्डुलगायत परिकार बनाउँदै आएका छन्।

टोखा नगरपालिका २ र ३ मा चाकु उत्पादन हुँदै आएको छ। यो टोखाको पुरानो बजारसमेत हो। उक्त बजारको नामबाट नगरपालिकाको नामसमेत राखिएको हो। टोखामा उत्पादन भएको चाकु काठमाडौँ उपत्यकाका असन‚ इन्द्रचोक‚ भक्तपुर‚ पाटन, कीर्तिपुर र उपत्यकाबाहिर नारायणगढ‚ पोखरा‚ बुटवल‚ विराटनगरलगायत सहरमा पनि बिक्रीका लागि पुर्‍याउने गरिन्छ। टोखामा उत्पादन हुने चाकुले नेपालको करिब ६० प्रतिशत बढी चाकुको माग पूर्ति गर्ने बताइन्छ।

टोखा परम्परागत चाकु संरक्षण समाजका संस्थापक अध्यक्ष कृष्णबहादुर श्रेष्ठले टोखामा उत्पादित चाकु नेपालसँगै जापान‚ अमेरिका र अस्ट्रेलियालगायत देशमा पुग्ने गरेको बताए। टोखामा बर्सेनि पाँच लाख किलो चाकु र लड्डु उत्पादन हुँदै आएको छ। नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो। टोखा उखुखेती हुने ठाउँका रूपमा चिनिन्छ।

टोखाका उद्योगमा हाल सादा चाकु, मसला चाकु, स्पेसल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन हुँदै आएका छन्। टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष बुद्ध श्रेष्ठले टोखामा सञ्चालित चाकु उद्योगले वार्षिक चाकु र उखुबाट बन्ने परिकार बिक्रीबाट करोडौँ रुपैयाँ आम्दानी गर्दै आएको बताए। टोखामा कृष्ण चाकु उद्योग, काशीलाल चाकू उद्योग र न्हुछे चाकू एन्ड तितौरा उद्योग ठुला उद्योग हुन्।

यहाँ उत्पादित सादा चाकुको मूल्य प्रतिकिलो १४०‚ मसला चाकुको मूल्य प्रतिकिलो १५०‚ सेतो तिलको लड्डुको मूल्य प्रतिकिलो २३०‚ कालो तिलको लड्डुको मूल्य प्रतिकिलो २५० निर्धारण गरिएको छ। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखाको ऐतिहासिक विशेषतालाई जीवन्त राख्न टोखामा चाकु स्तम्भ निर्माणका लागि नगरपालिकाले काम गरिरहेको बताए। “टोखा नगरपालिका २‚ गलेमा चाकु स्तम्भका लागि डीपीआर निर्माण भइसकेको छ‚” छिटै चाकु स्तम्भ निर्माण गछौँ‚” उनले भने। टोखाले चाकुलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने बताएको छ।

चाकु चिसो लागेका बेला पनि खाने चलन छ। यस्तै माघेसङ्क्रान्तिमा चाकुबाहेक सखर‚ तरुललगायत खानेकुरासमेत खाने गरिन्छ।

Read more news from नेपाल न्युज

Explore by Source or Category