npl.977 Nepal News Stream

BIZMANDU logo BIZMANDU

हात-हातमा स्मार्टफोन, घर-घरमा डिजिटल प्रचार सामग्री, बदलियो नेपाली चुनावी शैली

Pramila Bhatta 1 day ago

काठमाडौं । कुनै समय थियो निर्वाचन आउनुअघि सहरका भित्ताहरू पम्प्लेटले रंगिन्थे, सडकमा पर्चाको थुप्रो हुन्थ्यो र माइकिङको आवाजले गाउँसहर गुञ्जायमान हुन्थ्यो। तर, यसपटकको प्रतिनिधि सभा निर्वाचनको दृश्य फेरिएको छ। अहिले उम्मेदवारहरू भित्तामा होइन, मतदाताको ‘न्यूज फिड’ र ‘रिल्स’ मा झुल्किरहेका छन्।

धेरै उम्मेदवारको घरदैलोमा हातहातमा पार्टीको पर्चासँगै स्मार्टफोन छ र त्यही स्क्रिनभित्रै चलिरहेको छ- डिजिटल चुनावी महासंग्राम।

प्रतिनिधिसभा निर्वाचन-२०८२ संघारमा आइपुग्दा यो चुनाव पूर्णरूपमा डिजिटलाइज्ड बनेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) जस्ता सामाजिक सञ्जाल अहिले चुनावी प्रचारका मुख्य थलो बनेका छन्। फागुन १८ गतेबाट प्रचारप्रसारको समय सकिने भएपछि राजनीतिक दलहरू यतिबेला हतार हतार ‘डिजिटल स्पेस’ मा आआफ्नो ‘इको चेम्बर’ उकास्न तँछाड मछाड गरिरहेका छन्।

केही वर्षअघिसम्म चुनावी प्रचार भन्नाले आमसभा र घरदैलो मात्र बुझिन्थ्यो। तर, अहिले उम्मेदवारहरूले प्रविधिलाई यसरी प्रयोग गरेका छन् कि उनीहरू मतदाताको कोठासम्मै पुगेका छन्। कसैले बल्क एसएमएस पठाएका छन्, कसैले ह्वाट्सएपमार्फत भोट मागिरहेका छन्। कसैले भने फोन गर्नकै लागि छुट्टै टोली परिचालन गरेका छन्।

मतदाताले जसको सामाग्री केही समय लगाएर हेर्छन् फीड त्यही खालको उसलाई पछ्याइरहेको छ। रुखको प्रचार सामाग्री हेरे रुखैरुख आउँछ, घन्टी हेरे घन्टी। सूर्य हेरे सूर्य र तारा तेर त्यसैले पछ्याउँछ।

डिजिटल प्रचारको यो लहरमा मोटो रकम खर्च भइरहेको छ। मेटाले उपलब्ध गराएको तथ्यांक अनुसार जनवरी २७ देखि फेब्रुअरी २५ सम्म एक महिनामा मात्रै लाखौँ रुपैयाँ नेपालबाट ‘बुस्टिङ’ मा खर्च भएको छ। दल, उम्मेदवारहरु डिजिटल माध्यममा आकर्षित छन्, निर्वाचन आयोग नै सूचना र जानकारीहरु यो माध्यमबाट प्रसार गर्न अघि देखिएको छ।

‘डिजिटल प्रचार प्रसारले देश बदलिएको छ। पम्प्लेट लिए प्रचारप्रसार गर्ने प्रचलन अहिले छैन,’ कांग्रेसका प्रचारप्रसार समितिका सदस्य जीवन भण्डारीले बताए । उनका अनुसार कांग्रेसले निर्वाचन आचांरसहिताको पालना गरेर डिजिटल प्रचार प्रसार गरिरहेको छ।

सर्वसाधारण मतदातासँगै कार्यकर्ताहरु पनि डिजिटल माध्यममा बढी आकर्षित देखिँदा दलहरुलाई डिजिटल माध्यम बाध्यता नै हो। यो हात हातमा पुग्ने प्रभावकारी माध्यम बनेको छ। ‘त्यसकारण पनि हामीले प्रचारप्रसार डिजिटल गरेका हौँ। निर्वाचन आयोगले पनि प्रचार प्रसारको शैली परिवर्तन गरेको छ,’ उनले भने।

जनवरी २७ देखि फ्रेब्रुअरी २५ सम्म सबैभन्दा धेरै खर्च गर्ने १० पेजहरु

क्र.स नामअमेरिकी डलर 
माई भ्वाइस काउन्टस्३,७१५
डा. अजय क्रान्ति फलोवस्२,०५५
साझा पार्टी२,०३०
रुटिन अफ झापा-५१,६१२
नैन सिंह महर१,४५३
कुशल गुरुङ- कास्की१,३२९
देशको आशा१,२३४
गतिशील लोकतान्त्रिक पार्टी१,१३७
हाम्रो आवाज १,०७०
१०दिलीप बगडिया९९७

यी १० पेज बाहेक अन्य थुप्रै पेजहरुबाट पनि चुनावी प्रचारप्रसार भइरहेको छ। नयाँ बाटोले ९५७ अमेरिकी डलर, भरतराज ढकाल जिताऔँ अभियानले ९४६ अमेरिकी डलर, भरत कर्ण जिताउ अभियानले ९४६ अमेरिकी डलर, महतोजी पेजले ८९४ अमेरिकी डलर खर्च गरिसकेको छ।

त्यस्तै, नयाँ बाटो पेजले ८४३ अमेरिकी डलर, रमणकुमार वकिल जिताउ अभियान महोत्तरी-२ ले ७२४ अमेरिकी डलर, निशा अधिकारीले ७०२ अमेरिकी डलर, राजन अधिकारीले ७१५ अमेरिकी डलर, उज्यालो नेपाल पार्टीले ६२४ अमेरिकी डलर, विनोद चौधरीले ४९६ अमेरिकी डलर, श्री गरुङले ६२८ अमेरिकी डलर, दाङ क्षेत्र नं १ युवा विनय वीसी जिताउ अभियानले ४०५ अमेरिकी डलर, माधवप्रसाद बाँस्तोला सचिवालयले ३४४ अमेरिकी डलर खर्च गरेका छन्।

यो त मेटाको तथ्यांकमा उल्लेखित रकम मात्र हो। यसपटक दल र उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा बढी देखाउन नहुने हुँदा ‘थर्ड पार्टी’ प्रयोग गरेर पनि पोस्टहरु बुस्ट गर्दै मतदाताको माझ पुर्‍याइरहेका छन्।

फेरिएको प्रचारशैली

यसपटक पहिलाझै ठूलठूला आमसभा भएनन्। नेताहरु गाडीमा देशदौडाहामा निस्किए। केही ठाउँमा बोले। कतै हिँडे, कतै नाचे। कतै तरकारी पकाउन सघाए, कतै धान काट्दै गरेको भेटिए। यी र यस्तै अनगिन्ती पक्षलाई सामाजिक संजालको एल्गोरिदमले हजारौं मानिसको हात हातमा पुर्‍यायो। सभादेखि जिल्ला दौडका तस्विर र भिडियो एल्गोरिदमको सहाराले मतदाताकोमा पुर्‍याइयो।

यसपटक कांग्रेस होस् या राष्ट्रिय स्वतन्त्र पार्टी, अधिकांश दलका उम्मेदवारहरु सामाजिक सञ्जाल केन्द्रित भएका छन्। चुनावी घरदैलोमा भन्दा उनीहरुको ध्यान धेरै फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्ममा रह्यो। सानो भिडियो रिल्स र ग्राफिक तस्बिरहरुलाई राजधानी दल र तिनका उम्मेदवारहरुले सामाजिक सञ्जालमा मत माग्न प्रयोग गरे। सहरी क्षेत्रमा मात्रै होइन गाउँमा समेत यस्तै मत माग्ने लहर चल्यो यसपाली।

प्रविधिको प्रयोग गरेर चुनावी शैली अपनाउने तामझामका पछाडि धेरै समूहले काम गरिरहेका छन्।  

एक्सटेन आईटीका प्रबन्ध निर्देशक दीपक पौडेलका अनुसार यसपटक उम्मेदवारहरूले उमेर समूह, भौगोलिक क्षेत्र र रुची आधारमा मतदातालाई ‘टार्गेट’ गरेका छन्।

‘अहिलेको प्रचार केवल फिजिकल उपस्थितिमा मात्र सीमित छैन,’ दलहरुको डिजिटल क्याम्पेनिङ सम्हालिरहेका पौडेल भन्छन्, ‘हामीले १८-२५ वर्षका पहिलो पटक मतदान गर्ने युवा र ४० वर्ष माथिका मतदाताका लागि फरक-फरक रणनीति बनाएका छौँ। एउटै भिडियोले २ लाखदेखि १५ लाखसम्मको भ्यूज पाइरहेको छ।’

एक जना प्रतिनिधि सभा उम्मेदवारले सरदरमा ५ लाख रुपैयाँभन्दा बढी डिजिटल प्रचारमा खर्च गर्ने गरेको उनले बताए। ग्राफिक पोस्ट, भिडियो निर्माणका लागि छुट्टाछुट्टै शुल्क तोकिएको छ।

यो चुनावी माहोलले रोजगारीको अवसर पनि सिर्जना गरेको छ। भिडियो सम्पादन, ग्राफिक डिजाइन, क्यामेरा वर्क र मिडिया म्यानेजमेन्टमा सयौं युवाहरूले ‘प्रोजेक्ट बेस’ काम पाएका छन्। परम्परागत शैलीबाट डिजिटल शैलीतर्फको यो रुपान्तरणले उम्मेदवारहरुको चुनावीशैलीलाई मतदाताको पहुँचसम्म पुर्‍याइरहेको छ। अबको चुनाव केवल मतपत्रमा सीमित छैन, यो ‘एल्गोरिदम’ र ‘एन्गेजमेन्ट’ को प्रतिस्पर्धामा बदलिएको छ।

The post हात-हातमा स्मार्टफोन, घर-घरमा डिजिटल प्रचार सामग्री, बदलियो नेपाली चुनावी शैली appeared first on BIZMANDU.

Read more news from BIZMANDU

Explore by Source or Category