npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

पर्यटन प्रवर्द्धन गर्न सौराहामा हात्ती महोत्सव पुस ११ गतेदेखि, पर्यटकको आगमनमा ३० प्रतिशत बृद्धि हुने अनुमान

Tourism Face 15 hours ago

टुरिजमफेस
चितवन । पर्यटकीय नगरी सौराहामा पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष हुँदै आएको हात्ती तथा पर्यटन महोत्सव यस वर्ष आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने भएको छ । क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको आयोजना तथा यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।

विसं २०५५ देखि सुरु भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा यस वर्ष हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी दिनेलगायत कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सव संयोजक गुणराज थपलियाका अनुसार पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, हात्ती मैत्री प्रतियोगिताहरू, सफारी टुरिजम प्रवर्द्धनका लागि पाहुनालाई हात्ती, जिप तथा डुङ्गा सफारी गराइने छ । महोत्सवमा ८० वटा हात्तीलाई सहभागी गराइने उनले जानकारी दिए ।

चितवनको पर्यटन, सम्भावना र चुनौतीसम्बन्धी अन्तक्रिया, विभिन्न प्रतियोगितालगायत कार्यक्रमहरु गरिने संयोजक थपलियाले बताए । उनका अनुसार चित्रकला प्रतियोगिता, मानव वन्यजन्तु सहअस्तित्व, पर्यापर्यटन र संरक्षणमा हात्तीको महत्वसम्बन्धी विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, हात्तीको महत्वबारे संरक्षकर्मी, वातावरणविद्, पूर्वसंरक्षण अधिकृतहरूको सन्देशमूलक सामग्री प्रदर्शन गरिने छ ।

महोत्सवले २५ देखि ३० प्रतिशत पर्यटकको आगमनमा बृद्धि हुने अनुमान आयोजकले गरेको छ ।

The post पर्यटन प्रवर्द्धन गर्न सौराहामा हात्ती महोत्सव पुस ११ गतेदेखि, पर्यटकको आगमनमा ३० प्रतिशत बृद्धि हुने अनुमान first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category