मुस्लिम समुदाय लक्षित प्रधानमन्त्रीकै अभिव्यक्ति विवादमा, होच्याउने मनसाय नभएको प्रस्टीकरण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले दिएको एउटा अभिव्यक्ति विवादमा परेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा उनले मुसलमानको व्यवहार र प्रवृत्ति अन्यायपूर्ण रहेको भन्दै जिउँदै लगेर गाड्ने रहेको बताएकी थिइन् । जसले उनलाई विवादमा तानेको हो ।
कार्कीले आफूले दिएको अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई होच्याउने आशय र नियत नभएको स्पष्ट पारेकी छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले आफ्नो अभिव्यक्तिमाथि भएको टिकाटिप्पणीप्रति प्रतिक्रिया दिदै आफ्नो आशय कुनै धर्म वा समुदायलाई होच्याउने नभएको बताएकी हुन् ।
‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन् । कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन,छैन । सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ । शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ,’ उनले भनेकी छन् ।
प्रधानमन्त्री कार्कीले गत मंगलबार अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा बोल्दै मुस्लिम समुदायको सन्दर्भमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । प्रधानमन्त्री कार्कीले भनेकी थिइन्, ‘मुसलमानको व्यवहार र प्रवृत्ति जुन छ, यति अन्यायपूर्ण देखिन्छ जिउँदै लगेर गाड्ने । कतिपय मुस्लिम देशहरुमा महिलालाई पढ्न नदिने । जब मुसलमानहरुले हमला गर्न थाले, त्यसपछि उनीहरुले सात वर्षको बच्चालाई पनि विवाह गर्ने, अरु कुराहरुलाई पनि सङ्र्कीण बनाउँदै लगे भन्ने छ ।’
प्रधानमन्त्री कार्कीको यो अभिव्यक्तिलाई विभिन्न जिल्लामा प्रदर्शन भएको थियो । मुस्लिम अगुवाले उनको आलोचना गरिरहेका छन् ।