npl.977 Nepal News Stream

Insurance Khabar logo Insurance Khabar

६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

जयराम गौतम 10 hours ago

काठमाडौं। चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिना पुससम्म करिब सवा ३९ अर्ब रुपैयाँबराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म ४७५ वटा उद्योगका लागि ३९ अर्ब २३ करोड ६१ लाखबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यी प्रतिबद्धता ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योगका लागि प्राप्त भएको छ।

गत पुसमा मात्र ३६ वटा साना उद्योगका लागि ५९ करोड ९५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

चालु आर्थिक वर्षको पुससम्म वैदेशिक लगानी प्रतिबद्धता प्राप्त ती उद्योगबाट २० हजार १२२ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।

चालु आर्थिक वर्षको ६ महिनामा सूचना प्रविधिमूलक क्षेत्रका सबैभन्दा बढी उद्योग स्थापनाका लागि लगानी प्रतिबद्धता आएको छ। यस क्षेत्रका २५७ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको हो।

यसैगरी सबैभन्दा धेरै रकमको लगानी प्रतिबद्धता कृषि क्षेत्रका लागि आएको छ। पुससम्म १३ उद्योगका लागि २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ। जुन कुल लगानी प्रतिबद्धताको ५६ प्रतिशत हो।

त्यस्तै पर्यटन क्षेत्रमा १० अर्ब ५४ करोड २० लाख रुपैयाँ (२७ प्रतिशत), सेवा क्षेत्रमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ (९ प्रतिशत), उत्पादनमूलक क्षेत्रमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ (५ प्रतिशत), सूचना तथा प्रविधि क्षेत्रमा १ अर्ब ७ करोड ८४ लाख रुपैयाँ (३ प्रतिशत) र ऊर्जा क्षेत्रमा १८ करोड ४२ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले तथ्यांकले देखाउँछ।

Read more news from Insurance Khabar

Explore by Source or Category