महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर एमालेमा मारामार, सुनसरीमा कुटिए जिल्ला नेता
काठमाडौं । महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर एमालेमा मारामार सुरु भएको छ । एउटा पक्षले अर्को पक्षलाई उम्मेदवार बन्नबाटै रोक्नेसम्मका क्रियाकलाप भएको छ । साथै, एकले अर्को पक्षका साधारण सदस्यतासमेत काटिदिने, नवीकरण नगर्नेसम्मका काम जिल्ला जिल्लामा भएका छन् ।
कैलाली, संखुवासभा, सुनसरीलगायतका दर्जन जिल्लामा एमालेका सयौं साधारण सदस्यको नाम काटिएको छ । अध्यक्ष केपी ओली पक्षले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षमा खुलेका नेता कार्यकर्ताको साधारण सदस्यता नै खारेज गर्ने, नवीकरण नगर्ने गरेको देखिएको छ । ओली पक्षले पनि आफ्ना समर्थक कार्यकर्ताको नाम पोखरेल पक्षले काटेको दाबी गर्दै आएको छ ।
एमाले सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर उत्पन्न भएको आन्तरिक विवाद खुला सडकमै हिंसात्मक रूप लिएपछि पार्टीभित्रको तनाव चुलिएको छ। पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव तथा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य अनिल राजधामी माथि एमालेकै समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएको आरोप लागेको हो। कुटपिटपछि एमालेका अन्य कार्यकर्ताले उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरेका थिए।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए। उम्मेदवारी दर्तासँगै संगठनभित्र चर्किएको प्रतिस्पर्धा सडकसम्म झरेको देखिएको छ। घाइते राजधामीले आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेर अनुहारमै गम्भीर चोट पुर्याएको भन्दै कडा आपत्ति जनाएका छन्। यस घटनाले एमालेभित्र चलिरहेको एकता–अन्तरद्वन्द्वको वास्तविक स्वरूप उजागर गरेको छ।