npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

भारत : कांग्रेस नेताले संसदमा ल्याइन् कुकुर, टोक्ने मान्छे सरकारमा छन् भनी दिइन् बयान

क्लिकमान्डु 5 hours ago

एजेन्सी । भारतीय कांग्रेसकी सांसद रेणुका चौधरीले शिशिर सत्रको पहिलो दिन संसद् भवनमा कुकुर लिएर आएपछि विवाद उत्पन्न भएको छ ।

अन्य सांसदहरूले विरोध गरे पनि उनले साँच्चिकै कुकुर त संसदमै बसेका छन् र तिनले मानिसलाई दिनदिनै टोकिरहेका छन् भनिन् ।

संसद् आउँदै गर्दा बिहानै आफूले त्यो सानो कुकुर भेटेको चौधरीले बताइन् । उनले एउटा स्कुटर र कार ठोकिएको देखेपछि बाटोछेउमा कुकुर पनि देखिन् । कुकुरलाई गाडीले किच्ला कि भनेर डर मान्दै उनले त्यसलाई आफ्नो गाडीमै उठाएर ल्याइन् । गाडीले उनलाई ओरालेर फर्किंदा कुकुर पनि गाडीमै फर्कियो ।

‘यसो गर्न नहुने कुनै कानून छ र ? म बाटोमै थिएँ । स्कुटर र कार ठोक्किए । यो सानो कुकुर बाटोमा घुमिरहेको थियो । मैले सोचें, यसलाई गाडीले किच्ला । त्यसैले उठाएँ, गाडीमा राखें, संसद् आएँ र फेरि पठाइदिएँ । गाडी गयो, कुकुर पनि गयो । यो कुरालाई किन ठूलो बनाइएको ?’ उनले एएनआईसँग भनिन् ।

सरकारलाई कटाक्ष गर्दै उनले थपिन्, ‘साँचिकै टोक्नेहरू त संसदमै बसेका छन् । उनीहरूले नै सरकार चलाउँछन् । मैले एउटा मौन जनावरलाई बचाउनका लागि उठाएँ । त्यसैलाई ठूलो मुद्दा बनाइयो । सरकारसँग अरू कुनै काम छैन र ? मैले कुकुरलाई घर पठाएर राख्न भनें … तर संसदमा बसेर हामीलाई दिनदिनै ‘टोक्ने’हरूका बारे हामी कुरा गर्दैनौं,’ उनले भनिन् ।

तर भाजपा सांसद जगदम्बिका पालले चौधरीमाथि तमाशा गरेको र नियम तोड्दै कुकुरलाई संसदमा ल्याएको आरोप लगाए । उनका अनुसार, कुनै पनि सदस्यले कागजातविना कसैलाई संसद् परिसरमा ल्याउन पाउँदैन । चौधरीविरुद्ध कदम चाल्नुपर्ने उनको भनाइ छ ।

‘तपाईं गम्भीर विषयमा छलफल गर्न चाहनुहुन्न… यस्तो तमाशाले संसद्को मजाक बनाइरहनुभएको छ… उनी जनप्रतिनिधि हुन् । उनले महत्त्वपूर्ण मुद्दा उठाउनुपर्छ, यस्तो नाटक गरेर बस्ने हैन,’ पालले भने । सभामुखले कडा कारवाही गर्नुपर्ने उनले बताए ।

संसद्को शिशिर सत्रमा मतदाता सूचीका विषयमा छलफलको माग गर्दै विपक्षी सांसदहरूले नाराजुलुस र प्रदर्शन गरे । ‘भोट चोर, गद्दी छोड्’ भन्दै उनीहरू चिच्याए ।

Read more news from Clickmandu

Explore by Source or Category