npl.977 Nepal News Stream

Tourism Face logo Tourism Face

मध्यपूर्वी द्वन्द्वको असर: १८ उडान रद्द, करिब ३ हजार यात्रु मारमा

Tourism Face 2 days ago

काठमाडौं । मध्यपूर्वमा चर्किएको अमेरिका–इजरायल र इरानबीचको तनावले अन्तर्राष्ट्रिय हवाई सेवा प्रभावित हुँदा नेपालमा पनि त्यसको प्रत्यक्ष असर देखिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार  १८ वटा उडान रद्द भएका छन्, जसबाट झण्डै ३ हजार यात्रु प्रभावित भएका छन्।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार काठमाडौंबाट विभिन्न खाडी गन्तव्यतर्फ तय गरिएका उडानहरू स्थगित गरिएका हुन्।

नेपाल एयरलाइन्सका काठमाडौंदेखि दमाम, दोहा र दुबईका तीन उडान रद्द हुँदा करिब ५०० यात्रु प्रभावित भए।

त्यसैगरी कतार एयरवेजका चार उडान रद्द हुँदा करिब ८०० यात्रुले यात्रा गर्न पाएनन् भने फ्लाइ दुबईका चार उडान स्थगित हुँदा करिब ६०० यात्रु रोकिए।

एयर अरेबियाको शारजाहका लागि तय दुई उडानका करिब ३०० यात्रु प्रभावित भए। दमाम गन्तव्यका हिमालय एयरलाइन्सका तीन उडान रद्द हुँदा झण्डै ५०० यात्रु अलपत्र परे। कुवेत जाने दुई उडान स्थगित हुँदा थप ३०० यात्रु प्रभावित भएका छन्।

उडान रद्द भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ यात्रुहरूको बाक्लो भीड देखिएको थियो। घण्टौंसम्म प्रतीक्षा गरेका यात्रुहरू अन्ततः घर फर्किन बाध्य भए।

मध्यपूर्वस्थित केही विमानस्थलहरू अस्थायी रूपमा बन्द भएपछि स्थिति अझ जटिल बनेको छ। विश्वकै व्यस्त विमानस्थलमध्ये एक दुबई अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएको छ।

सूचना अधिकारी भूलका अनुसार आइतबार पनि कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबका दमाम र रियादतर्फका उडान प्रभावित हुनसक्छन्। उनका अनुसार आइतबार थप करिब १४ उडान रद्द हुने सम्भावना छ।

यद्यपि टर्किस एयरलाइन्सले भने आफ्नो उडान मार्ग उत्तरतर्फ ‘रि–रूट’ गरी नियमित सेवा सञ्चालन गरिरहेको प्राधिकरणले जनाएको छ। यात्रुहरूलाई सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरी अद्यावधिक जानकारी लिन आग्रह गरिएको छ।

The post मध्यपूर्वी द्वन्द्वको असर: १८ उडान रद्द, करिब ३ हजार यात्रु मारमा first appeared on Tourism Face.

Read more news from Tourism Face

Explore by Source or Category