npl.977 Nepal News Stream

News of Nepal logo News of Nepal

बैंकिङ ‘कालोसूची’को धक्का : धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

न्युज अफ नेपाल 2 hours ago

काठमाडौं ।

बैंकिङ कारोबारमा ‘कालोसूची’मा परेपछि धनुषा निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैंक तथा वित्तीय संस्थाको विवरणका आधारमा शाह कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी अयोग्य ठहर गर्दै खारेज गर्ने निर्णय गरेको जनाएको छ। निर्वाचन ऐनअनुसार कालोसूचीमा परेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था रहेको छ।

निर्वाचन अधिकृतको कार्यालय स्रोतका अनुसार उम्मेदवारी दर्तापछि पेश गरिएका कागजात तथा सम्बन्धित निकायबाट प्राप्त विवरण जाँच गर्ने क्रममा शाह बैंकिङ कारोबारका कारण कालोसूचीमा परेको तथ्य खुलेको हो। त्यसपछि कानुनी परामर्श लिएर उम्मेदवारी खारेज गरिएको जनाइएको छ।

यता, रास्वपाले भने निर्णयप्रति असन्तुष्टि जनाएको छ। पार्टी स्रोतका अनुसार यस विषयमा कानुनी उपचारको विकल्पबारे छलफल भइरहेको छ। शाह पक्षले आफूविरुद्धको कालोसूची सम्बन्धी प्रक्रिया विवादित रहेको दाबी गर्दै पुनरावलोकनको तयारी गरिरहेको बताइएको छ।

धनुषा–१ मा यसअघि नै मुख्य प्रतिस्पर्धी दलहरूबीच कडा प्रतिस्पर्धा हुने आकलन भइरहेका बेला रास्वपाका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि चुनावी समीकरणमा नयाँ मोड आएको छ। अब उक्त क्षेत्रमा रास्वपाले वैकल्पिक रणनीति अपनाउने वा कानुनी लडाइँ अघि बढाउने भन्ने चासो बढेको छ।

Read more news from News of Nepal

Explore by Source or Category