News of Nepal
मतदाता परिचयपत्र छैन ? यी ५ कागजातमध्ये एक लैजानुस्
–नागरिकताको प्रमाणपत्र
–राष्ट्रिय परिचयपत्र
–राहदानी
–जग्गाधनी प्रमाणपुर्जा
–सवारी चालक अनुमति
काठमाडौं।
दुई दिनपछि हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा यी कागजात भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउन नसकेको र परिचयपत्र हराएका मतदाताले मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन व्यवस्थापन सुरक्षा निर्देशिका २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचन शान्तिसुरक्षा कायम गर्ने र सोही दफाको खण्ड ‘ख’ को (झ) मा उल्लेख भएका मतदान निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा र सवारी चालक अनुमतिमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
तीमध्ये कुनै पनि कागजात बोकेर मतदान गर्न सकिने आयोगले स्पष्ट पारेको छ । आयोगले महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरेको छ भने वृद्धवृद्धा, सुत्केरी, अशक्त र अपाङ्गता भएका मतदाताका लागि लाइनमा बस्न नपर्ने गरी प्राथमिकताको व्यवस्था गरेको छ ।
आयोगले हिजो राति १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृह मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिन अनुरोध गरेको छ ।
जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम विशेष गरेका कार्य गर्नेलाई कारबाही गरिएकोबारे जानकारी दिन अनुरोध गरेको छ ।
निर्वाचन आउन दुई दिन बाँकी रहँदा हुनसक्ने सम्भावित घटना, झैझगडा, चलखेल नियन्त्रण र मतदान सम्पन्न गर्न करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरेको छ । जसमा नेपाली सेना, नेपाल प्रहरी बल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निर्वाचन प्रहरी परिचालन भएका छन् । गृह मन्त्रालयले झापा क्षेत्र नं–५ र सर्लाही–४ मा विशेष सुरक्षा व्यवस्था गरेको छ । नेपाली सेनाले सर्लाही–४ मा विशेष निगरानी गरेको छ ।
निर्वाचनको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने सवारी साधन, कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारी साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । सञ्चारमाध्यमको हकमा सूचना विभागको पास भएका पत्रकारलाई सम्बन्धित पत्रकारले प्रयोग गर्न मिल्नेगरी सवारीसाधन प्रयोग गर्न पाउने भएको छ ।
आयोगले हवाईयात्रुको हकमा मतदानको दिनमा अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालन व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर र बसोबास गर्ने होटलसम्म र घर र बसोबास गर्ने होटलदेखि विमान स्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाएको छ ।
आयोगले भोलि २० गते बुधबार राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म अन्य सवारीसाधन प्रयोग गर्न रोक लगाएको छ । अन्यको हकमा जिल्ला प्रशासन कार्यालयको पास अनिवार्य गरेको छ ।
फागुन २१ गते हुने निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दै छन् । यसका लागि निर्वाचन आयोगले देशभर १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ वटा मतदान केन्द्रहरूको व्यवस्था गरेको छ । निर्वाचनमा १६५ प्रत्यक्ष र ११० जना समानुपातिक गरी २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् ।