npl.977 Nepal News Stream

Clickmandu logo Clickmandu

सुशासनका खरो कुरा गर्ने प्रधानमन्त्री सुशीला कार्कीले वर्षौंदेखि कब्जा गरिरहेकी छन् सरकारी जग्गा

क्लिकमान्डु 13 hours ago

काठमाडौं । ‘लोकतन्त्रको अभ्यास छैन । यसलाई लोकतन्त्रको अभ्यास भनिन्न, भ्रष्टाचारको अभ्यास भनिन्छ । भ्रष्टाचार, अनियमितता र आफ्नोतन्त्र बाहेक अरु कुनै वाद छैन,’ दश महिनाअघि एक पोडकास्टमा हाल प्रधानमन्त्री रहेकी सुशीला कार्कीले भनेकी थिइन्,’ गौंडा गौंडामा आफ्नो मानिस राखेर बसेका छन् । सरकारी कार्यालयमा आफ्ना मान्छे राखेर मनपरी गरेर भ्रष्टाचार गर्ने ? भ्रष्टाचार गर्ने मानिसलाई कार्यालयको जिम्मा दिएपछि के हुन्छ ?’

पोडकास्टमा बोलिरहँदा उनी पूर्वप्रधानान्यायाधीशको रुपमा अतिथि बनेर गएकी थिइन् । तर, अहिले भने कार्की प्रधानमन्त्री छिन् । गत भदौ २३-२४ गतेको जेनजी आन्दोलनपछि उनी प्रधानमन्त्री छिन् ।

प्रधानन्यायाधीश भएदेखि नै जग्गा हडपेकी कार्कीले अहिलेसम्म पनि फिर्ता गरेकी छैनन् । सुशीला प्रधानन्यायाधीश भएसँगै सुरक्षाकर्मीको बसोबासका लागि उक्त जग्गामा टहरा बनाइएको उनका श्रीमान दुर्गा सुवेदी बताउँछन् ।

काठमाडौंस्थित टोखा नगरपालिका वडा नम्बर ४ को धापासीमा कार्कीले आफ्नो घरसँगै जोडिएको ३ आना सरकारी जग्गा अतिक्रमण गरेकी हुन् ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश भएको व्यक्तिले सरकारी जमिन अतिक्रमण गर्नु भ्रष्टाचार नै भएको भन्दै स्थानीयले आलोचना गरेका छन् ।

कार्की प्रधामन्त्री हुनुअघि भ्रष्टाचारविरुद्ध खरो उत्रिने व्यक्ति हुन् र त्यसबेला उनी इच्छा भए ५ दिनमा भ्रष्टाचार नियन्त्रण गर्न सकिने दाबी गर्थिन् । तर प्रधानमन्त्री भएको तीन महिना पुग्नै लाग्दासमेत हडेपिएको जमिन कार्कीले फिर्ता गरेकी छैननन् ।

कार्कीले जमिन मिचिएको थाहा नपाएर सार्वजनिक जग्गा फिर्ता नगरेकी भने होइनन् । वडा नम्बर ४ का अध्यक्ष धर्म श्रेष्ठले विभिन्न नापीबाट पनि कार्कीले सार्वजनिक जग्गा मिचेको तथ्य स्थापित भइसकेको र अतिक्रमण भएको कुरालाई प्रधानमन्त्री कार्कीले पनि स्वीकारेको बताए ।

‘सुरक्षाकर्मीका लागि क्वार्टर बनाउन जग्गा अतिक्रमण गरेर टहरा बनाइएको पाइएको छ,’ उनले क्लिकमान्डुसँग भने,’उहाँले पनि अतिक्रमण भएको कुरालाई स्वीकार्नु भएको छ ।’

सरकारले चाहेको जुनसुकै बेला आफूले मिचेको सार्वजनिक जग्गा फिर्ता गर्ने प्रधानमन्त्री कार्कीले बताएको भए पनि अहिलेसम्म फिर्ता भने नगरेको श्रेष्ठ बताउँछन् ।

‘उहाँ वडा कार्यालयमा वर्षेनि जग्गाको राजस्व तिर्न आइरहनु हुन्छ । राज्यको सम्पत्ति मेरो निवासमा परेको छ । राज्यले मागेको खण्डमा जुनसुकै समयमा फिर्ता गर्नेछु भनेर भन्नु भएको छ,’ श्रेष्ठले भने, ‘तर, अहिलेसम्म फिर्ता गर्नु भएको छैन ।’

सुशीलाका श्रीमान् दुर्गा प्रसाद सुवेदीको नाममा भएको कित्ता नम्बर ८ मा रहेको जग्गा ६ आना १ पैसा २ दाम क्षेत्रफलको हो जहाँ तीन तले घर बनाइएको छ । तर त्यससँगै जोडिएको थप ३ आना जग्गा कार्की परिवारले अतिक्रमण गरेसँगै ९ आना १ पैसा क्षेत्रफल ओगटेका छन् । जहाँ आफ्नो सम्पत्ति जसरी पर्खाल लगाइएको छ ।

२०७६ सालमा वडाले नापीबाट अमिन ल्याएर उक्त जग्गा नाप जाँच गरेको थियो । जतिबेला कार्की परिवारले करिब ३ आना जग्गा अतिक्रमण गरि भोगचलन गरिरहेको पाइएको वडाअध्यक्ष श्रेष्ठ बताउँछन् ।

स्थानीका अनुसार २०७३ असारदेखि नै कार्कीले जग्गा अतिक्रमण गरेर भोगचलन गर्दै आएकी छन् ।

वडाअध्यक्ष श्रेष्ठ पनि कार्की प्रधानन्यायाधीश भएको समयदेखि त्यहाँ टहरो बनाएको बताउँछन् । ‘पर्खाल नै लगाएर जग्गा कब्जा गरिएको छ,’ उनले भने, ‘ पाखो जग्गालाई पर्खाल लगाएर उहाँले आफ्नो जग्गा जस्तो गरेर भोग चलन गरिरहनु भएको छ ।’

घरको पछिल्लो भागबाट मिचिएको जग्गा

तर आफूहरूको घरकै जग्गा नमिचेको सुवेदीको दाबी छ । अहिले पनि कयौंले जग्गा मिचेको भए पनि आफूहरूलाई नै लक्षित गरेर नाप जाँच गरेको र अहिले प्रचार गरिएको उनले आरोप लगाए ।

टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सार्वजनिक जग्गा अतिक्रमण गर्नेमाथि अनुसन्धान गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताए । वडासँग समन्वय र छलफल गरेर आवश्यक कदम चाल्न सकिने उनको भनाइ छ ।

३२ रोपनी जग्गा मिचिएको र त्यसमध्ये कही सुशीला कार्कीको जग्गामा पनि परेको उनी बताउँछन् ।

छलफल र संवादबाट समस्या समाधान नभए भने बल प्रयोग गरेर सार्वजनिक सम्पत्ति फिर्ता लिने उनको दाबी छ । ‘टोखा नगरपालिकाले केही समयअघि ११ रोपनी जग्गा बल प्रयोग गरेर ल्याएको छौं । मेरो दुई कार्यकालको बीचमा १४ सय रोपनी जग्गा संरक्षण गरिसकेका छौं’ टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भने ।

Read more news from Clickmandu

Explore by Source or Category