Herne Katha
EP148 Amlighat ko Katha
असमको राजधानी गुवाहाटीबाट ६५ किलोमिटर जति पूर्व लागेपछि राजमार्ग छेवैमा एउटा नेपाली बस्ति भेटिन्छ । ठाउँको नाम हो अम्लिघाट ।
अम्लिघाटको कथा
अम्लिघाट गाई पाल्नेहरुको लागि प्रख्यात छ ।
यहाँबाट कपिली नदी धेरै टाढा छैन । तर आजकल भुपेन हजारिकाको गीतमा जस्तो कपिलीपारि गाई हराउँदैनन् । यहाँका मान्छले जङ्गलमा बसेर गाई पाल्न छाडेको वर्षौं भइसक्यो ।
घरैपिच्छे गोठ छन् । अनि गोठमा कम्तिमा एउटा – धेरै दुध दिने उन्नत जातका गाई । हरेक घरको फुल टाइम आम्दानीको श्रोत – गाई ।
‘गोर्खा’ भनेर चिनिने नेपालीभाषीहरुको सङ्गतले यहाँका रैथाने आसामेली र आदिवासीले पनि गाई पाल्न सिकिसके ।
दूध बेचेरै यो गाउँलाई सुखी बनाउने कर्ममा जोडिएको छ, सिताजखला सहकारी – आज भन्दा ६७ वर्ष पहिला यसै गाउँका अगुवा नेपालीहरुले बनाएको समूह ।
साँझ विहान सहकारीको घुम्ती सेवा टोल टोलमा पुग्छ । आँगनमै आएको गाडीमा गाउँलेले पानी नहालेको खाँटी दूध बुझाउँछन् ।
रन्जित शर्माको परिवार कुनै समय बर्माबाट असम पुगेका थिए । रन्जितका बुबा पुस्ताका पढेलेखेकाहरुले गाई पाल्नेहरुलाई संगठित गरेका थिए । रन्जित अहिले यही सहकारीका अध्यक्ष छन् ।
साँझमा गाउँलेहरुले थकाइ मार्ने बेला सहकारीमा दूध प्रशोधनको काम सुरू हुन्छ ।
The post EP148 Amlighat ko Katha appeared first on Herne Katha.